काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटसम्बन्धी रूपरेखा सार्वजनिक गरेको छ। रूपरेखामा निश्चित पदका उम्मेदवार छनोट गर्दा पार्टी सचिवालयले अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।
बुधबार सार्वजनिक गरिएको रूपरेखाअनुसार सचिवालयले केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी यस्तो विशेषाधिकार प्रयोग गर्न सक्नेछ। गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख तथा वडा अध्यक्षको उम्मेदवार छनोटमा यो व्यवस्था लागू हुनेछ।
त्यस्तै, महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यका उम्मेदवार छनोट गर्दा पनि अधिकतम १५ प्रतिशतसम्म विशेषाधिकार प्रयोग गर्न सकिने उल्लेख छ।
रूपरेखामा निर्धारित विधि र प्रक्रियाअनुसार उम्मेदवार छनोट गर्न असम्भव हुने असाधारण अवस्था आएमा वैकल्पिक प्रक्रिया अपनाउन सकिने व्यवस्था पनि गरिएको छ। तर, यस्तो निर्णयलाई पार्टी केन्द्रीय समितिको तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ बहुमतबाट अनुमोदन गराउनुपर्नेछ।
असाधारण परिस्थितिमा समेत उम्मेदवार छनोटका लागि पार्टी विधानअनुसारको वैकल्पिक प्रारूप अनिवार्य गरिएको छ। उक्त प्रारूपमा क्यान्डिडेट क्लब, लिडरसिप एकेडेमी र प्रारम्भिक निर्वाचनसम्बन्धी व्यवस्था समावेश हुनुपर्ने रूपरेखामा उल्लेख छ।
यसका लागि रास्वपाले पार्टी विधानको धारा ७(३), ६४ र ६५ लाई आधार मानेको छ।
रूपरेखाले स्थानीय तह निर्वाचनका उम्मेदवार छनोटको विधि, विशेषाधिकार प्रयोगको सीमा तथा निर्धारित प्रक्रियाभन्दा बाहिर गएर निर्णय गर्नुपर्ने अवस्थामा अपनाउनुपर्ने अनुमोदन प्रक्रियालाई समेटेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्