नुवाकोट । नेपाली कांग्रेस बेलकोटगढीका प्रभावशाली नेता इन्द्रबहादुर लामाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत आजदेखि आफू कुनै पनि राजनीतिक पार्टीमा नरहेको घोषणा गरेका हुन्।
नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय सदस्यसमेत रहेका लामा साविक दुईपिपल गाविसका पूर्वअध्यक्ष हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनी २२ वर्षको उमेरमै गाविस अध्यक्ष बनेका थिए। सानै उमेरमा स्थानीय राजनीतिमा प्रवेश गरेर महत्त्वपूर्ण काममार्फत चर्चा कमाएका लामालाई नुवाकोटका संघर्षशील युवा नेताका रूपमा चिन्ने गरिन्छ।
लामा २०६४ सालमा मुलुकमा गणतन्त्र स्थापना भएपछि नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए। कांग्रेसमा सक्रिय रहँदै आएका उनी पछिल्लो समय पार्टीभित्र देखिएको विशेष महाधिवेशन र नियमित महाधिवेशनसम्बन्धी विवादका बीच पार्टीबाट बाहिरिएकाे विषयमा निकै चासोका साथ हेरिएको छ ।
कांग्रेसको विशेष महाधिवेशनका समर्थक रहेका लामालाई सभापति गगनकुमार थापाले जनजाति कोटाबाट महाधिवेशन प्रतिनिधिसमेत मनोनित गरेका थिए।
लामाले कांग्रेस परित्याग गर्नुको स्पष्ट कारण भने सार्वजनिक रूपमा खुलाएका छैनन्। उनको निर्णयलाई लिएर जिल्लाका राजनीतिक वृत्तमा विभिन्न टिप्पणी हुन थालेका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद र गुटगत राजनीतिको असरका कारण पार्टीप्रति इमानदार तथा संघर्षशील नेता–कार्यकर्ता निराश हुँदै गएको कतिपयको टिप्पणी छ।
कांग्रेसभित्रको महत–केसी र लामपा क्षीय राजनीतिक प्रतिस्पर्धा र आन्तरिक स्वार्थका कारण लामाजस्ता राजनीतिक चेत भएका तथा संघर्षशील नेताहरू पछाडि पारिएको भन्दै केहीले उनको बहिर्गमनलाई दुःखद् घटनाका रूपमा व्याख्या गरेका छन्। यद्यपि, लामाले पार्टी छाड्नुको कारण यही रहेको भन्ने विषयमा उनको प्रत्यक्ष धारणा प्राप्त हुन सकेको छैन।
पछिल्लो समय कांग्रेसभित्रको विशेष र नियमित महाधिवेशनसम्बन्धी विवादले नेता तथा कार्यकर्तामा निराशा बढ्दै गएको चर्चा भइरहेका बेला बेलकोटगढीकै रामचन्द्र नेपालले पनि केही दिनअघि पार्टी परित्याग गरेका थिए। त्यस्तै, तादी गाउँपालिकाका नारायण पाण्डेले पनि राजनीतिबाट विश्राम लिएको समाचार सार्वजनिक भएको थियो।
यसरी जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताले पार्टी छाड्ने वा सक्रिय राजनीतिबाट अलग हुने क्रमबारे चर्चा भइरहेका बेला लामाको घोषणालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।
लामाको पार्टी परित्यागबारे थप प्रतिक्रिया लिन खोज्दा उनको मोबाइल फोन बन्द रहेकाले सम्पर्क हुन सकेन ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्