नगरप्रमुख राजन श्रेष्ठको पहलमा त्रिशूली अस्पतालमा एमआरआई मेसिन ल्याउने समझदारी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३०, शुक्रबार ०६:५८

नुवाकोट । नुवाकोट, रसुवा र धादिङका नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले त्रिशूली अस्पतालमा एमआरआई (MRI) मेसिन उपलब्ध गराउने सम्बन्धमा ऐतिहासिक समझदारीपत्रमा हस्ताक्षर भएको छ।

विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको पहल तथा इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस एन्ड रेड क्रिसेन्ट सोसाइटीज (IFRC), नेपाल प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको संयुक्त सहकार्यमा एमआरआई मेसिन उपलब्ध गराउने प्रक्रिया अघि बढेको हो।

एमआरआई मेसिन उपलब्ध भएपछि नुवाकोटसहित छिमेकी जिल्ला रसुवा र धादिङका नागरिकले जटिल रोगको पहिचान तथा उपचारका लागि आवश्यक जाँच गराउन सहज हुने अपेक्षा गरिएको छ। यसबाट बिरामीलाई काठमाडौंलगायत अन्य ठूला सहरका अस्पताल धाउनुपर्ने बाध्यता कम गर्न तथा समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास गरिएको छ।

त्रिशूली अस्पतालमा एमआरआई सेवा सञ्चालनमा आउन सके यस क्षेत्रको स्वास्थ्य सेवामा महत्वपूर्ण सुधार हुनेछ। विशेषगरी आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका नागरिकलाई स्थानीयस्तरमै आधुनिक स्वास्थ्य सेवा प्राप्त गर्न ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

यस महत्वपूर्ण पहलका लागि IFRC, नेपाल रेडक्रस सोसाइटी नुवाकोट तथा विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठप्रति धन्यवाद व्यक्त गरिएको छ।

त्रिशूली अस्पतालमा एमआरआई मेसिन उपलब्ध गराउने यो पहललाई नुवाकोटसहित रसुवा र धादिङका नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *