पूर्वराजा ज्ञानेन्द्रको टिप्पणी : देशका सबै क्षेत्र अन्योलमा, राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिन आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन ३०, शुक्रबार ०८:०७

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक अहिले राजनीतिकदेखि आर्थिक तथा सामाजिक क्षेत्रसम्म विभिन्न किसिमका अन्योल र अस्थिरताबाट गुज्रिरहेको बताएका छन् ।

दसैँको अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले राजनीतिक, संवैधानिक, न्यायिक, आर्थिक, सामाजिक, प्रशासनिक तथा व्यावसायिक क्षेत्र स्पष्ट दिशाको अभावमा अलमलिएको टिप्पणी गरेका हुन् ।

उनले मुलुकको राज्य प्रणालीलाई सही दिशामा अघि बढाउने, प्रजातान्त्रिक आधारलाई अझ सुदृढ बनाउने र अर्थतन्त्रलाई सबल बनाउने विषयमा गम्भीर बहस आवश्यक रहेको बताएका छन् ।

वर्तमान परिस्थितिका कमजोरी सुधार गर्दै प्रजातान्त्रिक विधि र प्रक्रियालाई बलियो बनाउनुपर्नेमा जोड दिँदै उनले बदलिँदो विश्व परिवेश र भूराजनीतिक अवस्थाबीच नेपालको राष्ट्रियता तथा मौलिक मूल्य–मान्यतालाई दृढ राख्नुपर्ने उल्लेख गरेका छन् ।

भोटेकोसी बाढीबाट क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माणका लागि बाह्य सहयोग लिँदा पनि नेपालको स्वाभिमान, स्थानीय परम्परा र मौलिकता संरक्षणमा ध्यान दिनुपर्ने उनको सुझाव छ । यसका लागि कूटनीतिक रूपमा विवेकपूर्ण पहल आवश्यक रहेको उनले बताएका छन् ।

पूर्वराजा शाहले नेपाललाई केवल भौगोलिक सीमाभित्रको मुलुकका रूपमा नभई साझा इतिहास, आस्था, संस्कृति, परम्परा र पहिचानसँग जोडिएको राष्ट्रका रूपमा बुझ्नुपर्ने बताएका छन् ।

देश कठिन परिस्थितिबाट गुज्रिँदा नागरिकबीच आपसी भाइचारा र सहयोगको भावना अझ बलियो बनाउनुपर्ने उनको भनाइ छ । एक क्षेत्रका नागरिकको दुःखमा अर्को क्षेत्रका नागरिकले साथ दिनु र राष्ट्रिय हितलाई व्यक्तिगत स्वार्थभन्दा माथि राख्नु नै वास्तविक देशभक्तिको परिचय हुने उनले शुभकामना सन्देशमा उल्लेख गरेका छन्

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *