दसैँका कारण भिटामिन ‘ए’ कार्यक्रमको मिति सर्‍यो, कात्तिक १७ र १८ गते सञ्चालन हुने

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २, आईतवार १४:११

काठमाडौं । नेपाल सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत यस वर्षको पहिलो चरणको कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।


विगतका वर्षमा पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्ष उक्त समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरिएको हो।
सरकारले हरेक वर्ष दुई चरणमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरण कात्तिकमा र दोस्रो चरण वैशाखमा सञ्चालन हुने गरेको छ। दोस्रो चरणअन्तर्गत वैशाख ६ र ७ गते बालबालिकालाई औषधि खुवाइनेछ।


कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।


बालबालिकाको स्वास्थ्य संरक्षण, कुपोषण न्यूनीकरण तथा विभिन्न स्वास्थ्य जटिलताबाट बचाउन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम महत्वपूर्ण मानिन्छ।


स्वास्थ्य निकायले तोकिएको मिति कात्तिक १७ र १८ गते आफ्ना बालबालिकालाई नजिकैको औषधि खुवाउने केन्द्रमा लगेर भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *