काठमाडौं । दसैँको समयमा नुवाकोटमा करिब ३ हजार रुपैयाँको सामान खरिद गरेकी सन्तमाया तामाङले १० लाख रुपैयाँको बम्पर उपहार जितेकी छन्।
आन्तरिक राजस्व विभागले सञ्चालन गरेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत तामाङ बम्पर विजेता बनेकी हुन्। उनले नुवाकोटस्थित एसएस फेन्सी हाउसबाट सामान खरिद गरी बिल लिएकी थिइन्।
उक्त बिलबाट प्राप्त कुपन नम्बर ०८१६३२५१५८४९ गोलाप्रथामार्फत बम्पर उपहारका लागि छनोट भएको हो।
काठमाडौंको विशाल बजारमा आयोजित कार्यक्रममा कलाकार दीपकराज गिरी र दीपाश्री निरौलाले कम्प्युटर प्रणालीमार्फत विजेता छनोट गरेका थिए। विजेता घोषणा भएपछि तामाङलाई फोनमार्फत १० लाख रुपैयाँको उपहार परेको जानकारी दिइएको थियो।
सुरुमा फोनबाट आएको खबरलाई तामाङले मजाक ठानेकी थिइन्। तर, यो नेपाल सरकारको आधिकारिक कार्यक्रम भएको जानकारी पाएपछि मात्रै आफूले बम्पर उपहार जितेको विश्वास गरेको बताइएको छ।
विभागका अनुसार सोही कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मका लागि १६ जना दैनिक विजेतासमेत छनोट भएका छन्। दैनिक विजेताले कर कट्टीपछि जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्।
आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसालले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानीको विकास गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।
विभागका अनुसार यस अवधिमा बिल प्रविष्ट गरी २ लाख ७५ हजार ८८४ कारोबार कार्यक्रममा सहभागी भएका थिए। क्यूआर भुक्तानीमार्फत स्वतः दर्ता भएका ३ करोड ७४ लाख ७८ हजार ३८० कारोबार समेत जोड्दा कुल ३ करोड ७७ लाख ५५ हजार २६४ कारोबार उपहार छनोट प्रक्रियामा समावेश भएका थिए।
उपहार विजेताले आगामी कात्तिक १५ गतेभित्र आफूले सामान खरिद गर्दा प्राप्त गरेको सक्कल बिलसहित नजिकको आन्तरिक राजस्व कार्यालयमा पुगेर पुरस्कार दाबी गर्नुपर्ने विभागले जनाएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्