प्रधानमन्त्री बालेनको भारत भ्रमणको तयारी तीव्र, भारतीय विदेश सचिवले आज भेट्दै

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १९, बिहीबार ०८:५४

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको प्रस्तावित भारत भ्रमणको तयारी र द्विपक्षीय एजेन्डाबारे छलफल गर्न नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले आज प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने भएका छन्।

परराष्ट्र सचिव अमृत राईको निमन्त्रणामा नेपाल आएका मिस्रीले प्रधानमन्त्रीसँगको भेटमा भ्रमणको तयारी, सम्भावित कार्यसूची र नेपाल–भारत सम्बन्धका प्राथमिकताबारे छलफल गर्ने अपेक्षा गरिएको छ। भेटवार्तापछि उनी आजै अपराह्न स्वदेश फर्किने कार्यक्रम छ।

प्रधानमन्त्री बालेनको मंसिर पहिलो सातादेखि हुने भनिएको भारत भ्रमणलाई केन्द्रमा राखेर मिस्रीको नेपाल भ्रमण भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा हुन सक्ने उच्चस्तरीय छलफलका विषय पहिचान गर्न उनले बुधबार नेपाल सरकारका विभिन्न मन्त्री तथा परराष्ट्र सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

बुधबार परराष्ट्र सचिव राईसँग भएको द्विपक्षीय भेटमा आगामी उच्चस्तरीय भ्रमणको तयारी र सम्भावित एजेन्डाबारे छलफल भएको थियो। दुई देशबीच हवाई, रेल, सडक तथा पुलमार्फत सम्पर्क सञ्जाल विस्तार, व्यापार सहजीकरण, विकास साझेदारी र ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउने विषयले छलफलमा प्राथमिकता पाएको मन्त्रालयले जनाएको छ।

यसैगरी, विदेश सचिव मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पनि भेट गरेका थिए।

अर्थमन्त्री वाग्लेसँगको भेटमा आर्थिक साझेदारी विस्तार, ऊर्जामन्त्री श्रेष्ठसँग ऊर्जा तथा जलस्रोत क्षेत्रमा सहकार्य अभिवृद्धि र पूर्वाधार विकासमन्त्री लम्सालसँग कनेक्टिभिटी तथा पूर्वाधार विकासका विषयमा छलफल भएको थियो। भेटका क्रममा नेपालमा सञ्चालित विभिन्न परियोजनाको प्रगतिबारे समेत समीक्षा गरिएको बताइएको छ।

मिस्रीको भ्रमणलाई प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको पूर्वतयारीका रूपमा हेरिएको छ। विभिन्न मन्त्रालयसँगको परामर्शका आधारमा भ्रमणमा उठाइने विषयलाई थप स्पष्ट पार्ने प्रयास गरिएको भए पनि अन्तिम एजेन्डा भने अझै टुंगिन बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *