कम्पनीको विवरण अद्यावधिक गर्ने समय पुस मसान्तसम्म थप

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक १९, बिहीबार ०९:१८

काठमाडौं, कात्तिक १९ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण अद्यावधिक गर्ने समय सरकारले थप दुई महिना दिएको छ। अब कम्पनीहरूले आगामी पुस मसान्तसम्म यस्तो सुविधा लिन पाउने भएका छन्।

यसअघि सरकारले विवरण अद्यावधिक गर्ने समय कात्तिक मसान्तसम्म तोकेको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ सम्मको नियमानुसार लाग्ने कर, शुल्क तथा दस्तुर बुझाएमा त्यसअघिका सबै आर्थिक वर्षको कर, शुल्क, दस्तुर र जरिवाना मिनाहा हुनेछ।

कार्यालयकी रजिष्ट्रार कृष्णकुमारी श्रेष्ठले जरिवाना मिनाहाको अवसरको उपयोग गर्दै समयमै कम्पनीको विवरण अद्यावधिक गर्न सञ्चालकहरूलाई आग्रह गरेकी छन्।

यसैबीच, नेपालमा नयाँ कम्पनी दर्ता हुने क्रम पनि बढेको देखिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा २० हजार ७३६ कम्पनी दर्ता भएकामा २०८२/८३ मा यो संख्या बढेर २६ हजार २९१ पुगेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पाँच हजार ५५५ बढी कम्पनी दर्ता भएका हुन्।

चालु आर्थिक वर्षमा पनि कम्पनी दर्ताको गति उत्साहजनक रहेको छ। कात्तिक १२ गतेसम्म मात्रै १० हजार ४८० नयाँ कम्पनी दर्ता भइसकेको रजिष्ट्रार श्रेष्ठले जानकारी दिइन्।

विदेशबाट फर्किएका नेपालीले त्यहाँ सिकेको सीप, प्रविधि र आर्जन गरेको पुँजी स्वदेशमै लगानी गरी व्यवसाय सुरु गर्न थालेकाले पनि कम्पनी दर्ता बढेको उनको भनाइ छ।

कम्पनी ऐन, २०६३ अनुसार कार्यालयले निजी तथा पब्लिक लिमिटेड र मुनाफा वितरण नगर्ने कम्पनीको दर्ता, प्रशासन, नियमन र खारेजीसम्बन्धी कार्य गर्दै आएको छ। कम्पनीको नाम, सेयर संरचना, प्रबन्धपत्र तथा नियमावली संशोधन, कम्पनी एकीकरण र गाभ्ने–गाभिने प्रक्रियासमेत कार्यालयको जिम्मेवारीमा पर्छ।

कार्यालयको अभिलेखअनुसार हालसम्म तीन लाख ८८ हजार ६९० कम्पनी दर्ता भएका छन्। तीमध्ये १४ हजार ९७० कम्पनी खारेज भइसकेका छन्। कानुनअनुसार सञ्चालन हुन नसकेका वा व्यवसाय बन्द गर्न चाहने कम्पनीको खारेजी प्रक्रिया अघि बढाउने तथा कम्पनीका वास्तविक धनीको विवरण संकलन र व्यवस्थापन गर्ने काम पनि कार्यालयले गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *