– गोकुल प्रसाद दाहाल
मैले मेरो यो विचारमार्फत यहाँ कुनै पद माग्न, कसैको विरोध गर्न वा कसैलाई होच्याउन उभिएको होइन । आज म आफ्नो मनभित्र वर्षौँदेखि गुम्सिएर बसेका केही पीडा, सम्झना, त्याग, संघर्ष र नेपाली कांग्रेसप्रतिको अविचल मायालाई तपाईंहरूसामु राख्न चाहन्छु । म पेसाले पुख्र्यौली रूपमा पुरेत्याइ र खेतीकिसानीमा आश्रित एउटा सामान्य मानिस हुँ । तर मेरो जीवनको एउटा ठूलो हिस्सा नेपाली कांग्रेसको झण्डा, चारतारे झण्डाको सम्मान, पार्टी संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा बितेको छ। मेरो लागि नेपाली कांग्रेस केवल एउटा राजनीतिक पार्टी होइन, यो मेरो जीवनको इतिहास हो, मेरो पसिना हो, मेरो त्याग हो र मेरो आत्मसम्मान हो ।
पञ्चायतकालदेखि सुरु भएको राजनीतिक यात्रा पञ्चायतकालदेखि नै नेपाली कांग्रेसप्रति आस्था राख्दै, संघर्ष गर्दै र पार्टीको संगठन विस्तारमा लाग्दै आएको मेरो राजनीतिक यात्रा आजको होइन । त्यो समय सम्झँदा आज पनि मेरा आँखा रसाउँछन् । हालको बेलकोटगडी ८तथा साविक जिङलिङ गाविसमा त्यतिबेला जम्मा चार घर मात्र नेपाली कांग्रेसप्रति आस्थावान् थिए । भारतलाल चित्रकार, केउरिनी, होमप्रसाद पुडासैनी, स्वर्गीय नेत्रप्रसाद दाहाललगायतका साथीहरूसँग सहकार्य गर्दै हामीले पार्टी संगठनलाई अगाडि बढाउने प्रयास गरेका थियौँ । ज्वारिकोटको गोजीमा दुई रुपैयाँको कापी राखेर पार्टीप्रतिको माया, ममता र भविष्यका योजनाहरू लेख्दै संगठन विस्तारको सपना देखेको त्यो समय म आज पनि भुल्न सक्दिनँ । आज पार्टीको नाममा ठूला–ठूला भाषण गर्नेहरूलाई म एउटा प्रश्न सोध्न चाहन्छु—त्यो कठिन समयमा पार्टीको झण्डा बोकेर हिँड्नेहरू को थिए? जब पार्टीको नाम लिनसमेत कठिन थियो, तब गाउँ–गाउँमा पुगेर कांग्रेसको विचार फैलाउनेहरू को थिए?
इतिहासलाई आजको सफलतासँग मात्र तुलना गरेर हेर्न मिल्दैन। इतिहास त कठिन समयमा कसले कति दुःख सह्यो, कसले कति त्याग ग¥यो र कसले कति जोखिम मोलेर पार्टीलाई जोगायो भन्ने कुराले लेखिन्छ।
आफ्नो कमाइ र सम्पत्तिसमेत पार्टीका लागि खर्चिएँ
त्यतिबेला म आफ्नो पेसा र खेतीकिसानीमा निर्भर व्यक्ति थिएँ । राजनीतिप्रतिको मेरो मोह यति गहिरो थियो कि मैले आफ्नो जवानीका धेरै वर्ष पार्टीको काममा खर्चिएँ । खेतबारीको उत्पादन र आम्दानीमा निर्भर मेरो जीवनमा पार्टीको कामका लागि समय निकाल्नु सजिलो थिएन। कहिलेकाहीँ आफ्नो गुजारा चलाउने जमिन र बारीको पाटासमेत बेचेर राजनीतिक गतिविधि सञ्चालन गर्नुपर्ने अवस्था आयो । मैले पार्टीको काम गर्दा कसैको ठूलो चन्दा, कुनै विशेष बजेट वा कुनै नेताको आर्थिक सहयोगमा भर परेर राजनीति गरिनँ। आफ्नै पसिना, आफ्नै कमाइ र आफ्नै सम्पत्तिको सहारामा पार्टीको काम गर्दै आएँ।
कयौँ पटक चुनाव तथा अधिवेशनमा कार्यकर्ताहरूलाई खाना खुवाउने व्यवस्था गरेँ। कतिपटक बैठक तथा कार्यक्रम आयोजना गरेँ। कतिपटक टाढा–टाढाबाट साथीहरू बोलाएर संगठन निर्माणमा लागेँ । यी सबै कुराको हिसाब मसँग होला, तर ती त्यागको मूल्य पैसामा मात्र नाप्न सकिँदैन। मलाई कुनै हिसाबकिताब गरेर पार्टीसँग आफ्नो योगदानको मूल्य असुल्नु छैन। मेरो चाहना यति मात्र हो—पार्टीको इतिहास लेखिँदा र नेतृत्वको मूल्याङ्कन हुँदा मेरो योगदान पनि सम्झिइयोस्।
कठिन समयमा चारतारे झण्डा जोगाउने संघर्ष
विगतमा नेकपा एमालेको प्रभाव र संगठन बलियो भएको समयमा नेपाली कांग्रेसको चारतारे झण्डा जोगाउन कति कठिन थियो भन्ने कुरा हामी सबैलाई थाहा छ । तर हामीले हार मानेनौँ । युवा, वृद्ध, महिला तथा समाजका विभिन्न वर्गका मानिसलाई संगठित गर्दै पार्टीलाई अगाडि बढाउने प्रयास ग¥यौँ । विगतमा एमालेबाट वडा अध्यक्षमा निर्वाचित हुनुभएका दुर्गाबहादुर पुडासैनी र मेरा आफ्नै दाजु शिव दाहालजस्ता व्यक्तिहरूलाई समेत नेपाली कांग्रेसमा प्रवेश गराउन तथा पार्टी संगठनमा आबद्ध गराउन मैले भूमिका खेलेको कुरा आज स्मरण गर्न चाहन्छु ।
आजको स्थानीय नेतृत्व र संगठनको अवस्थासम्म आइपुग्न धेरै मानिसको योगदान छ । कसैले पदबाट योगदान गरेका छन्, कसैले आर्थिक सहयोगबाट, कसैले विचारबाट र कसैले आफ्नो जीवनको अमूल्य समय दिएर । मेरो योगदानलाई पनि त्यही इतिहासको एउटा हिस्साका रूपमा हेरियोस् भन्ने मेरो आग्रह हो । पदमा पुग्नेहरूको मात्र होइन, बाटो बनाउनेहरूको पनि इतिहास हुन्छ । म कुनै पनि वर्तमान नेतृत्वको योगदान अस्वीकार गर्दिनँ । आज उपमेयरज्यूले हासिल गर्नुभएको सफलताप्रति पनि मेरो शुभकामना छ । तर राजनीतिमा एउटा कुरा बुझ्न जरुरी छ—नेतृत्व निर्माणको यात्रामा पछाडि बसेर खट्ने, संगठनको जग बलियो बनाउने र राजनीतिक शिक्षा दिने मानिसहरूको योगदान पनि बिर्सनु हुँदैन । पदमा पुग्ने व्यक्तिको मात्र इतिहास हुँदैन । त्यो पदसम्म पुग्ने बाटो बनाइदिने कार्यकर्ताहरूको पनि इतिहास हुन्छ । राजनीतिमा गुरुको भूमिका महत्वपूर्ण हुन्छ। तर गुरुको योगदान र विगतलाई बिर्सेर केवल व्यक्तिगत स्वार्थ, चाप्लुसी वा प्रतिशोधको राजनीतिलाई संगठन निर्माणको आधार बनाउन सकिँदैन । राजनीतिक संस्कार भनेको अग्रजको सम्मान, कार्यकर्ताको मूल्याङ्कन र संगठनप्रतिको इमानदारी हो ।
२०५४सालको त्यो कठिन समय
मलाई दुःख लाग्ने एउटा कुरा के हो भने, मैले राजनीतिक जीवनमा जति दुःख गरेँ, जति त्याग गरेँ, त्यसको तुलनामा उचित मूल्याङ्कन र सम्मान पाउन सकिनँ भन्ने अनुभूति आज पनि मेरो मनमा छ । २०५४ सालमा म गाविस अध्यक्षको प्रत्याशी बनेँ । त्यो समयको राजनीतिक परिस्थिति कति कठिन थियो भन्ने कुरा आजका युवा साथीहरूले बुझ्न आवश्यक छ । त्यतिबेला नेपाली कांग्रेसभित्रका केही प्रभावशाली व्यक्तिहरू सक्रिय भएको भए सायद म त्यही समयमै राजनीतिक रूपमा ठूलो क्षतिको शिकार बन्नुपर्ने अवस्था आउन सक्थ्यो भन्ने मेरो अनुभूति छ । तर म विगतप्रति गुनासो गरेर मात्र बस्न चाहन्नँ। म इतिहासबाट पाठ सिकेर वर्तमानलाई सच्याउन चाहन्छु ।
माओवादी द्वन्द्वको त्यो पीडादायी समय
माओवादी द्वन्द्वको त्यो दर्दनाक समय सम्झँदा आज पनि मन भारी हुन्छ।
आफ्नै घरमा निर्धक्कसँग बस्न नसक्ने अवस्था थियो। कहिले काठमाडौंमा आफन्तको कोठामा आश्रय लिनुप¥यो, कहिले बट्टार र अन्य ठाउँमा चिनजानका मानिसहरूको घरमा शरण खोज्दै हिँड्नुप¥यो । परिवारसँग ढुक्क भएर बस्न नसक्ने अवस्था थियो । म किन त्यसरी शिकार भएँ?
किनभने म केवल कांग्रेसको कार्यकर्ता मात्र थिइनँ, म जिलिङको कांग्रेसको एक सच्चा कार्यकर्ता भएर संगठन र लोकतन्त्रको पक्षमा उभिएको थिएँ। राजनीतिक आस्था र पार्टीप्रतिको निष्ठाकै कारण मैले धेरै कठिनाइ भोगेँ। तर ती कठिनाइले मेरो कांग्रेसप्रतिको विश्वास कमजोर बनाएनन्।
२०६२÷६३ को जनआन्दोलन र मेरो प्रतिबद्धता
२०६२÷६३ को ऐतिहासिक जनआन्दोलनका दिनहरू पनि मेरो राजनीतिक जीवनका अविस्मरणीय दिन हुन् । देशमा लोकतन्त्र स्थापनाका लागि जनताले सडकमा संघर्ष गरिरहेका बेला म पनि आफ्नो ठाउँबाट लोकतन्त्र र नेपाली कांग्रेसको पक्षमा उभिएको थिएँ । त्यो समयको संघर्ष केवल सत्ता परिवर्तनका लागि थिएन। त्यो जनताको अधिकार, स्वतन्त्रता र लोकतान्त्रिक मूल्यको रक्षा गर्ने संघर्ष थियो । त्यसैले आज लोकतन्त्रको फल उपभोग गरिरहेका पुस्ताले त्यो इतिहास बुझ्न जरुरी छ।
मेरो गुनासो होइन, सम्मानको अपेक्षा हो
मैले जीवनभर पार्टीलाई दिएँ भनेर आज पार्टीसँग कुनै व्यक्तिगत लाभ मागेको होइन । मलाई पद चाहिएको मात्र होइन। मलाई मेरो योगदानको सम्मान चाहिएको हो। मलाई कसैलाई पछाडि पारेर अगाडि बढ्नु छैन। मलाई कसैको भाग खोस्नु छैन। मेरो आग्रह केवल यति हो—पार्टी निर्माणमा जीवन बिताएका पुराना कार्यकर्ताको इतिहास नबिर्सियोस् । नेपाली कांग्रेसलाई आजको अवस्थामा ल्याउन हजारौँ अनाम कार्यकर्ताको पसिना, आँसु र त्याग मिसिएको छ । ती कार्यकर्ताको त्यागको मूल्य कुनै पद, टिकट वा अवसरभन्दा ठूलो छ । त्यसैले नेतृत्वले नयाँ पुस्तालाई अवसर दिँदा पुरानो पुस्ताको योगदानलाई पनि सम्मान गर्नुपर्छ। नयाँ नेतृत्व निर्माण गर्दा पुराना कार्यकर्ताको आत्मसम्मानमा चोट पुग्नु हुँदैन।
मेरो अन्तिम विश्वास—कांग्रेस नै हो
जीवनमा अनेकौँ कठिनाइ आए। अपमान सहनुप¥यो। राजनीतिक उतारचढाव देखेँ । अवसरहरू आए र गए । धेरै मानिस आए, धेरै मानिस गए । तर एउटा कुरा बदलिएको छैन—नेपाली कांग्रेसप्रतिको मेरो आस्था। चारतारे झण्डाप्रतिको मेरो सम्मान। मेरो विश्वास डगमगाएको छैन । म आज पनि विश्वास गर्छु—नेपाली कांग्रेस बलियो हुनुपर्छ । तर कांग्रेस बलियो केवल नेताहरूले होइन, इमानदार कार्यकर्ताको सम्मानबाट हुन्छ । कांग्रेसको संगठन बलियो बनाउन पुराना अनुभव र नयाँ पुस्ताको ऊर्जा एकसाथ अघि बढ्नुपर्छ । हामीले विगतका कमजोरीबाट सिक्नुपर्छ। व्यक्तिगत रिस, गुटगत स्वार्थ, चाप्लुसी र प्रतिशोधभन्दा माथि उठेर संगठन, विचार र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिनुपर्छ । मसँग आज पनि त्यही सपना छ—गाउँमा कांग्रेसको झण्डा अझ मजबुत होस्, कार्यकर्ताले सम्मान पाऊन्, युवाले अवसर पाऊन् र पार्टीभित्र विचारको राजनीति स्थापित होस्। मेरो जीवनमा मैले जे पाएँ, कांग्रेसबाट पाएँ। जे गुमाएँ, कांग्रेसकै यात्रामा गुमाएँ। जे दुःख भोगेँ, कांग्रेसको विचार र लोकतन्त्रका लागि भोगेँ।त्यसैले मेरो लागि कांग्रेस कुनै क्षणिक राजनीतिक गन्तव्य होइन। कांग्रेस मेरो जीवनको एउटा लामो यात्रा हो। चारतारे झण्डा मेरो राजनीतिक पहिचान हो र लोकतन्त्रप्रतिको विश्वास मेरो जीवनको प्रतिबद्धता हो । आज पनि म त्यही चारतारे झण्डामुनि उभिएको छु—पदका लागि होइन, सम्मानका लागि; व्यक्तिगत स्वार्थका लागि होइन, संगठनका लागि; र गुनासोका लागि होइन, इतिहास सम्झाउनका लागि । लेखक ः जिलिङ, नुवाकोट निवासी नेपाली कांग्रेसका पुराना नेता कांग्रेस नियमित पक्षको महाधिवेशन प्रतिनिधि हन्
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्