काठमाडौँ, कार्तिक १८ गते । इन्डोनेसियन रेडक्रस सोसाइटी (Palang Merah Indonesia) ले नेपालका बाढी प्रभावित समुदायको राहत तथा पुनर्लाभ कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीलाई ५० हजार अमेरिकी डलर सहयोग प्रदान गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी (नेरेसो) र इन्डोनेसियन रेडक्रस सोसाइटीबिच आज आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले इन्डोनेसियन रेडक्रसको सहयोगप्रति आभार व्यक्त गर्दै बाढी प्रभावित परिवारहरू अझै पनि आफ्नो जीवन पुनःस्थापित गर्ने र पुनर्निर्माण गर्ने क्रममा रहेकाले प्राप्त सहयोग महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाल रेडक्रस र इन्डोनेसियन रेडक्रसबिच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध र सहकार्य रहँदै आएको उल्लेख गर्दै दुवै संस्थाबिच कर्मचारी तथा स्वयंसेवकको अनुभव आदानप्रदान, तालिम र सिकाइका अवसरले आपसी सहकार्यलाई थप सुदृढ बनाएको बताउनुभयो । साथै, नेपालमा विभिन्न विपद् प्रतिकार्यका क्रममा इन्डोनेसियन रेडक्रसका आपत्कालीन जनशक्तिबाट प्राप्त सहयोगको पनि उहाँले प्रशंसा गर्नुभयो ।
कार्यक्रममा भर्चुअल माध्यमबाट जोडिनुभएका इन्डोनेसियन रेडक्रस सोसाइटीका महासचिव अब्दुर रहमान मुहम्मद फचिरले नेपालका बाढी प्रभावित समुदायलाई सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै दुई देशका राष्ट्रिय रेडक्रस सोसाइटी बिचको मैत्रीपूर्ण सम्बन्ध र मानवीय सहकार्यलाई आगामी दिनमासमेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै; नेपालका लागि इन्डोनेसियाका मानार्थ उपवाणिज्यदूत उपेन्द्र शर्मा घिमिरेले विपद्का समयमा मानवीय सहयोग र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको महत्त्व उल्लेख गर्दै बाढी प्रभावित समुदायको पुनर्लाभका लागि इन्डोनेसियन रेडक्रसले गरेको सहयोग सराहनीय रहेको बताउनुभयो ।
कार्यक्रममा नेरेसोका महामन्त्री ऋषिरमण खनाल, नेपालका लागि इन्डोनेसियाका मानार्थ उपवाणिज्यदूत उपेन्द्र शर्मा घिमिरे र नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी तथा कर्मचारीहरू नेरेसोको केन्द्रीय कार्यालयमा प्रत्यक्ष उपस्थित हुनुहुन्थ्यो भने इन्डोनेसियन रेडक्रस सोसाइटीका महासचिव, प्रमुख सञ्चालन अधिकृत, उपप्रमुख सञ्चालन अधिकृत, विभिन्न विभाग तथा इकाइका प्रमुखहरू र नेपाल तथा बंगलादेशका लागि इन्डोनेसियाका प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी हुनुभएको थियो ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्