नुवाकोटको झिल्टुङ गाउँको त्यो पाखो माटो र चिसो हावाको बीचमा एउटा युवा हुर्किएको थियो। प्रकृतिको काखमा खेलेर, तादी खोलाको सुस्केरासँगै आफ्ना गुनासा र रहरहरू साटेर उसले जीवनका सुन्दर सपना बुन्न सिकेको थियो। उसका लागि प्रकृति केवल दृश्य थिएन, एउटा खुला पुस्तक थियो। गाउँका उकाली–ओराली, खेतका आली, चराचुरुङ्गीका आवाज र गाउँले जीवनका सुखदुःख नै उसका कविताका शब्दहरू थिए।
त्रिशूलीको किनार हुँदै डाँडामाथि घाम अस्ताउँदा उसको कल्पनाले अनेकौँ रङ भर्थ्यो। मनमा उब्जिएका भावनाहरूलाई शब्दमा उतार्दै ऊ आफ्नै संसार निर्माण गर्थ्यो। प्रकृतिले उसलाई एउटा सुन्दर उपहार दिएको थियो– कवित्व। उसका शब्दहरूमा माटोको सुगन्ध थियो, गाउँको आत्मीयता थियो र जीवनका अनगिन्ती कथा थिए।
तर प्रतिभाले मात्रै पेट भरिँदो रहेनछ। कविताले परिवारको ऋण तिरिँदो रहेनछ। सिर्जनाले चुलो बल्दो रहेनछ। गरिबीको कठोर यथार्थले उसका सपनामाथि विस्तारै प्रश्न गर्न थाल्यो। परिवारको जिम्मेवारी, ऋणको भारी र भोलिको चिन्ताले अन्ततः उसलाई आफ्नै माटोबाट टाढा पुर्यायो। ऊ सात समुद्रपारि पुग्यो, मरुभूमिको तातो बालुवा र कङ्क्रिटका अग्ला भवनहरूबीच आफ्नो पसिना बेच्न।
त्यहाँ न त तादी खोलाको सुस्केरा थियो, न झिल्टुङको चिसो हावा, न त्रिशूलीको किनारमा बसेर कविता कोर्ने फुर्सद। बिहानदेखि साँझसम्म काम, कामपछि थकान र फेरि भोलिको उही दौड। यसरी नै उसका जीवनका कैयौँ वर्ष बिते। समयसँगै हातको कलमभन्दा बढी औजार चल्न थाले, मनका भावनाभन्दा बढी हिसाबकिताब चल्न थाले। शब्दहरू मनभित्रै कतै हराउन थाले।
आज पनि उसको हातमा कलम छ, तर लेख्ने भावना हराउँदै गएको छ। आँखामा सपना त छन्, तर ती सपनामा गाउँको हरियालीभन्दा परिवारको भविष्य बढी देखिन्छ। शरीर विदेशको कुनै कारखानामा मेसिनझैँ चलिरहेको छ, तर मन भने कतै झिल्टुङको त्यही पाखोमा छुटेको छ।
वर्षौँको मेहनतले बैंकको खाता भरियो होला। परिवारको ऋण घट्यो होला। घरको चुलो पनि बल्यो होला। तर त्यसको मूल्यमा उसले आफूभित्रको एउटा सुन्दर संसार गुमाउँदै गयो। कहिल्यै शब्दसँग खेल्ने त्यो युवा आज शब्दविहीन भएको छ। कहिल्यै भावनाको सागरमा डुबेर कविता लेख्ने त्यो मन आज जिम्मेवारीको मरुभूमिमा सुक्दै गएको छ।
सायद ऊ जीवितै छ, हरेक दिन काम गरिरहेको छ, परिवारका लागि कमाइरहेको छ। तर उसको भित्रको कवि भने कतै चुपचाप मरिसकेको छ।
उसको मृत्यु शरीरको मृत्यु होइन, सपनाको मृत्यु हो। अभावले उसको घर त बचायो, तर उसको सिर्जनात्मक आत्मालाई बिस्तारै मारिदियो।
आज प्रश्न केवल एउटा कविको होइन, ती हजारौँ युवाको हो, जो परिवारको भविष्य बनाउन आफ्नै वर्तमान र सपना परदेशमा छोडिरहेका छन्।
ऊ विदेशमा जीवित छ, घरमा खुसी छ; तर उसको भित्रको कवि अब जीवित छैन।
– बेलकाेटगढी ६ घिमिरेथाेक
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्