शान्तिपूर्ण चाडपर्व मनाउन नुवाकोट प्रशासनको ७ बुँदे आग्रह

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ कार्तिक २०, शुक्रबार १२:२७

नुवाकोट — जिल्ला प्रशासन कार्यालय नुवाकोटले नेपालीहरूको महान् चाड शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वलाई मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा मनाउन जिल्लावासीलाई आग्रह गरेको छ।

कार्यालयले बिहीबार एक सार्वजनिक अनुरोध जारी गर्दै चाडपर्वका नाममा सार्वजनिक स्थानमा होहल्ला गर्ने, झैझगडा गर्ने, मादक पदार्थ सेवन गरी पारिवारिक तथा सामाजिक जनजीवन र सार्वजनिक शान्ति खलल पुर्‍याउने गतिविधि नगर्न अनुरोध गरेको हो।

त्यसैगरी, कानुनविपरीत जुवातास खेल्ने–खेलाउने, भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता जोखिमपूर्ण गतिविधि नगर्न र वातावरण प्रदूषण हुने विस्फोटक एवं प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्री तथा वितरण नगर्न प्रशासनले सचेत गराएको छ।

कार्यालयका अनुसार कानुनले निषेध गरेका गतिविधि गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिनेछ।

यस्तै, देउसी–भैलोलगायत सांस्कृतिक कार्यक्रम राति ९ बजेसम्म सम्पन्न हुने गरी मर्यादित, अनुशासित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

कानुनविपरीतका गतिविधि भएको पाइएमा नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउन प्रशासनले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईंले जारी गरेको उक्त अनुरोधमा चाडपर्वलाई आपसी सद्भाव, भाइचारा र सामाजिक एकता कायम गर्दै सभ्य एवं सुरक्षित रूपमा मनाउन सबैमा अपिल गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *