काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस काउन्सिल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेश जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।
महासंघका अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको पदाधिकारी, सल्लाहकार तथा केन्द्रीय सदस्यसहितको टोलीले आज राष्ट्रपति पौडेलसँग भेट गरी अध्यादेशका प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै ध्यानाकर्षण गराएको हो।
महासंघले सरोकारवाला पक्षसँग पर्याप्त छलफल र परामर्श नगरी संसद्लाई छलेर अध्यादेशमार्फत कानुन ल्याउने प्रक्रिया लोकतान्त्रिक विधि र प्रक्रियासँग मेल नखाने जनाएको छ। टोलीले यस विषयमा राष्ट्रपतिलाई जानकारी गराउँदै अध्यादेश जारी गर्नुअघि यसको प्रभाव र संवैधानिक पक्षमा गम्भीर विचार गर्न आग्रह गरेको छ।
यसअघि समाचार कक्षमा प्रवेश गरी प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनामा संलग्न प्रहरीलाई कारबाही नगरी सरकारले अध्यादेश ल्याएर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई थप प्रभावित बनाउन खोजेको महासंघको भनाइ छ। महासंघले यस विषयमा राष्ट्रपतिलाई आफ्नो विवेक प्रयोग गर्न आग्रह गरेको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्