
काठमाण्डौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस र एमालेबीच भएको सहमति प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि संसदबाट सार्वजनिक गर्नुपर्ने बताउनुभएको छ ।

जय नेपाल फाउण्डेशनले गरेको एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले आफैं हस्ताक्षरकर्ता भएकाले सहमति सार्वजनिक गर्नु प्रधानमन्त्री ओलीको जिम्मेवारी भएको बताउनुभयो ।
कांग्रेस एमालेबीचको सात बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका व्यक्त भइरहेका भन्दै महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा प्रतिनिधिसभाबाट त्यस्ता संशयलाई स्पष्ट पार्नुपर्ने पनि बताउनुभयो ।
महामन्त्री थापाले पार्टी सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच विगतमा पनि धेरै पटक धोकाधडीको राजनीति भएकाले सरकार आलोपालोमा चलाउने लगायतका दुई पार्टीबीच भएको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा सबै मानिसमा आशंका रहेको बताउनुभयो ।
यसैबीच कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन दिए पनि विगतमा ओलीमाथि उठाउँदै आएको मुद्दाबारे मौन नरहने बताउनुभएको छ ।
डाक्टर मुक्ति रिजालले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबारे लेखेको पुस्तक ‘द भिजिनरी रिबेल’ को लोकार्पण समारोहमा महामन्त्री शर्माले कांग्रेस सरकारलाई सफल बनाउन लाग्ने तर उत्तिकै खरो भूमिकामा रहने बताउनुभयो ।