
साउन, ८ हेटौंडा । बागमती प्रदेशमा सरकार गठनमा सहमति गरेका दुई प्रमुख दल नेपाली कांग्रेस र एमालेले मन्त्रालय भागबण्डामा पनि सहमति गरेका छन् । बागमती प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच मन्त्रालय भागबण्डामा सहमति जुटेको छ ।

दुई दलबीच भएको सहमति अनुसार कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ वटा मन्त्रालय लिनेछन् । सोमबार मन्त्रालय भागबण्डा नमिल्दा र एमाले भित्र मन्त्री छनौटको आन्तरिक समस्याले मुख्यमन्त्रीमा कांग्रेसका बहादुर सिं लामाको दावी पेश गर्ने पूर्वनिर्धारित कार्यक्रम रोकिएको थियो ।आज बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्नेछन् ।
अघिल्ला मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन मंगलबारसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए । सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।
मंगलबार ११ बजे दाबी पेश गर्न जाने तयारी भएको नेता लामाले जानकारी दिए । उनका अनुसार दावी पेशका लागि सबै प्रक्रिया पूरा भइसकेको छ । काठमाडौंमा रहेका एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहानै हेटौंडा फर्किएर दाबी पेश गरिने बताए । १३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने छ ।
स्रोतका अनुसार एमालेले यसअघि माओवादी नेतृत्वमा लिएका पाँच मन्त्रालय लिने सहमति यस अघि नै भएको थियो । मुख्य रुपमा समाजवादीले लिएको दुई मन्त्रालयमा एमालेले पशुपंक्षी मन्त्रालय र कांग्रेसले खेलकुद मन्त्रालय लिने सहमति भएको छ ।
कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको लिएको छ । एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।