
१६ साउन, नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित महादेवखर्कका एक बालकलाई खोलाले बगाउँदा मृत्यु भएको छ । बुधबार दिउँसो वडा नं ६ मा रहेको चेपिण्डे खोला तरेर खेतमा जाने क्रममा आमाको हातबाट फुत्किएर छ ६ वर्षीय विक्रम लामिछानेलाई खोलाले बगाएर निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार बालकलाई उनको आमा बीना भण्डारी (लामिछाने)ले हात समातेर सँगै खोला तर्ने क्रममा चिप्लिँदा खोलाले बगाएर दुई सय मिटर तल पुर्याएपछि उद्धार गरिएको थियो । उद्धारका क्रममा नै बालकको घटनास्थलमा निधन भएको हो ।
खोलाको चिप्लो ढुङ्गामा पानीको बहावले लडाएसँगै आमाको हातबाट फुत्किएर बालकलाई खोलाले बगाएको हो । लड्न पुगेकी आमाले छोरालाई बचाउन प्रयास गरे पनि तत्कालै उद्धार गर्न नसक्दा निधन भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि त्रिशूली अस्पतालमा ल्याइएको छ ।