
विदुर । २०७२ सालको महाभुकम्पको बेला भत्किएको नुवाकोट जिल्लाको प्रसिद्ध ऐतिहासिक साततले दरबार राष्ट्रिय संग्रहालयको निर्माणको काम अघि बढ्ने भएको छ । दरबार पुननिर्माणको जिम्मा लिएको चिनियाँ सरकारले यसको पुननिर्माणको काम अघि बढाएको छ ।

भुकम्पपछि नै दरबार पुननिर्माणमा चासो देखाएको चीन सरकारले उक्त दरबार पुननिर्माणको गर्ने सहमति जनाएको थियो । तर विभिन्न प्राविधिक समस्या देखाउँदै सम्झौता गरेको ९ वर्षसम्मपनि पुननिर्माणको प्रक्रिया अघि बढाएको थिए । नेपाल सरकार, विदुर नगरपालिकासहित राजनीतिक दलका नेताहरुको पटक पटकको आग्रहपछि चीन सरकारले पुननिर्माणको काम अघि बढाउने थप प्रतिवद्धता जनाएको छ ।उक्त प्रतिवद्धता अनुसार सहमतिमा हस्ताक्षर गरेर आदान प्रदान गरेका छन् ।

आइतबार नेपाल आएको चिनियाँ प्राविधिक टोलीले दरवार क्षेत्रको स्थलगत अवलोकन गर्दै काम अघि बढाउने प्रतिवद्धता जनाएको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । पुनर्निर्माणका लागि अलोकन गर्न आएको चिनियाँ प्राविधिक टोलीलाई मेयर श्रेष्ठले स्थलगत अवलोकन गराउनु भएको थियो ।
पुननिर्माणको कार्य अघि बढाउनका लागि चिनियाँ पक्षले खानेपानी, बिजुली, सडक र खाली जग्गा व्यवस्थापन नगरपालिकाले गर्नुपर्ने शर्त अघि सार्दै आवश्यक भौतिक कार्यको व्यवस्थापनपछि मर्मत तथा पुनर्निर्माण सुरु गरिने प्रतिबद्धता जनाएको छ ।
विदुर नगरपालिकाले उक्त माग अनुसार केही दिनभित्र नै खाली जग्गासहित खानेपानी र बिजुलीबत्तीको व्यवस्थापन गर्ने सहमति जनाएको छ । मेयर श्रेष्ठले भन्नुभयो, उहाँ(चिनियाँ पक्ष)ले भने अनुसार हामीले त्यसको व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएका छौं र त्यो काम कही दिनमा नै पूरा गर्ने छौं, त्यसपछि काम सुरु हुनेछ । भुकम्पपछि देशभरका अधिकांश धार्मिक तथा ऐतिहासिक क्षेत्रको पुननिर्माणको काम सम्पन्न भएर पुरानै अवस्थामा फर्किएको भएपनि नुवाकोट दरबार भने झन झन जीर्ण बनिरहेको छ ।

नुवाकोट जिल्लाको धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहेको दरबार पुननिर्माण हुन नसक्दा आन्तिरक तथा बाह्य पर्यटकहरु फाट्ट फुट्ट मात्रै आउने गरेको छन् । भुकम्पअघि दैनिक रुपमा ३० देखि ५० जनासम्म दरबार क्षेत्र घुम्न पुग्ने गरेका थिए। तर आज भोलि त्यो संख्या पनि नभएको दरबार क्षेत्र सङ्ग्रहालय समितिले जनाएको छ ।
पृथ्वी नारायण शाहले ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९ मा भव्य नौतले दरबार बनाउन लगाएका थिए। पछि नब्बे सालको महाभूकम्पले गर्दा दुई तल्ला भत्किएर सात तले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा।साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र सर्व(साधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए। उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वीनारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन।
साततले दरबारलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि।सं।१८२२ मा शेरा दरबारको निर्माण भएको थियो। सातौँ तला रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्ध बन्दीका लागि थुन्ने खोरका साथै दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पुर्ब कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो।
दरबारलाई राष्ट्रियकरण गरेको थियो। साँस्कृतिक महत्त्व बोकेको दरबार भएकोले पुरातत्व विभागमा राखिएको थियो। २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएपछि २०६८ वैशाख १३बाट नुवाकोट दरबार सङ्ग्रहालयका रूपमा परिणत भएको थियो ।