

विदुर । नुवाकोटको एक विद्यार्थीले पनि कक्षा १२ को व्यवस्थापनतर्फ नेपाल टप गरेका छन् । काठमाडौंको डिल्लीबजारमा अवस्थित ट्रिनिटि इन्टरनेशनल कलेजबाट नेपाल टप गरेका हुन् ।उनले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याउँदै नेपाल टप गरेको कलेज व्यवस्थापनले जनाएको छ ।
व्यवस्थापनतर्फ नेपाल टप गरेका कुञ्जन भट्टराई नुवाकोट जिल्लाको सुर्यगढी गाउँपालिका वडा नं. ४ को हिरामणीटार दार्मेका स्थायी बासिन्दा हुन् । सुर्यगढी ५ मा रहेको ग्लोरी बोडिङ स्कुलमा कक्षा ४ सम्म अध्ययन गरेका कुञ्जनले कक्षा ५ सामुदायिक विद्यालयतर्फ कुण्डला आधारभूत विद्यालयबाट गरेका थिए ।
कक्षा ६ मा नुवाकोटको बट्टारमा अवस्थित अर्किड एकेडेमीमा अध्ययन गरेका थिए । त्यस्तै कक्षा ७ देखि १० सम्म काठमाडौंको बालाजुस्थित तरुण मा.वि.बाट २०७८ सालको एसइई परिक्षामा सहभागी भई ३.७० जीपीएसहित एसईई उत्तीर्ण गरेका थिए ।
बुबा कुमार भट्टराईले दिनु भएको जानकारी अनुसार कुञ्जनले तरुण मा.वि. मा अध्ययन गर्दा उत्कृष्ट विद्यार्थी सम्मान पुरस्कार प्राप्त गरेका थिए । भविष्यमा कुञ्जनले उच्च शिक्षामा अर्थशास्त्र वा सिए लिएर पढ्ने इच्छा व्यक्त गरेको उनका बुबाले बताएका छन् । यसअघि यस वर्षको एसईई परीक्षामा पनि नुवाकोटबाट ३ जना विद्यार्थीले ४ जिपिएकासाथ नेपाल टप गरेका थिए ।