

काठमाडौँ । संक्रमणकालीन न्याय प्रक्रिया टुङ्गाउने विषयमा प्रमुख तीन दलबीच भएको सहमतिको प्रतिवेदन आज (बुधबार) प्रधानमन्त्रीलाई बुझाउने भएको छ ।
संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले कार्यदलले आज प्रतिवेदनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई बुझाउने छ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा प्रतिवेदन बुझाउन लागिएको हो । प्रधानमन्त्री ओलीको सचिवालयले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजे शीर्ष नेताले कार्यदलको प्रतिवेदन बुझ्ने तय भएको जानकारी दिएको छ ।
कार्यदलमा काँग्रेसबाट रमेश लेखक, एमालेबाट बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य हुनुहुन्छ । कार्यदलले विभिन्न चरणमा छलफल गरी प्रतिवेदनलाई अन्तिम रूप दिएको हो । कार्यदलमा सहमति भएको प्रतिवेदन र विधेयकमा भएको संशोधनको प्रस्तावलाई कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा पेश गरेर छलफल भएपश्चात् विधेयकलाई सदनमा पेस गरिने छ ।