
विश्वजगतमा आरामदायी, छिटो र सुरक्षित मानिने आकाशको यात्रा पछिल्ला दिनहरुमा असुरक्षित बन्न थालेका छन् । आकाशको यात्रा गर्नुभन्दा पहिला आफु सकुसल हुन्छु कि हुन्न भनेर भगवान्सँग कामना गर्नुपर्ने अवस्था बन्दै गएको छ । हुन त कतै न कतै सानाठुला हवाई दुर्घटना हुनु अस्वभाविक मानिदैन तर पछिल्ला दिनमा यो अवस्था बढिरहेको छ ।
दुर्घटना कसैले चाहेर हुने त होइन,त्यो भवितव्यमा हुने गर्दछ । यसलाई हामीले टार्न सक्ने कुरा भएन । तर हाम्रो मुलुकका दुई हप्ताको बीचमा दुई वटा दुर्घटना हुन पुगेका छन् । जसबाट २३ जनाको ज्यान जान पुगेको छ । गत साउन ९ गते सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको निधन भएको पीडा सेलाउन नपाउँदै पुनः एयर डाइनेस्टीको हेलिकोप्टर नुवाकोटको सुर्यचौरमा दुर्घटना हुँदा बुधबार पाँच जनाको निधन भयो । सौर्य एयरलाइन्सको जहाज विमानस्थलबाट उडेलगत्तै दुर्घटना भएको थियो भने उक्त दुर्घटनाको १४ दिनमै एयर डाइनेस्टीको हेलिकोप्टर उडेलगत्तै नै बेपत्ता भई दुर्घटना भएको छ ।
नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौरमा साउन २३ गते भएको दुर्घटनाले के नेपाली आकाश सुरक्षित नभएको हो त भन्ने प्रश्न तेस्याई दिएको छ । हेलिकप्टर दुर्घटनामा हामीले पूर्व मन्त्री गोपाईराई देखि रविन्द्र अधिकारी,चर्तित हवाईहरु समेत गुमाई सकेका छौं ।
यस्तै आफ्नो अमुल्य जीवन बाँचिरहेका धेरै नेपाली र विदेशीले पनि नेपाली आकाशामा नै आफ्नो ज्यान गुमाउनु परेको अवस्था छ । यो सिंगो नेपाल र विश्वका लागि पनि दुःख्द घटना हो । यसले मानव जीवनको त्यो अमुल्य उपहारमाथि भएको बज्रपातको त कुनै मुल्य तोक्ने कुरा भएन त्यो सँगै दुर्घटनाका शृङ्खला थपिँदै जाँदा नेपाली आकाशमा उडान सुरक्षित नभएको सन्देश बाह्य जगतमा सम्प्रेषण हुने अवस्था आएको छ । यसप्रति हामी अझ गम्भीर हुनुपर्ने बेला आएको छ ।
कतिपय दुर्घटना भवितव्यका कारण हुने कुरालाई नर्कान सकिन्न, तर कतिपय दुर्घटना भने पाइलटको लापरबाहीका कारण पनि हुँदै आएका छन् ।दुर्घटनापछि सरकारले हरेक पटक जाँचबुझ समिति गठन गरेर त्यसको प्रतिवेदन ग्रहण गर्दै आएको छ । तर पनि दुर्घटनाको संस्या घटेको देखिदैन । यस पटक पनि दुवै दुर्घटनाका लागि जाँचबुझ समिति बनाइएको छ । यद्यपि समितिको प्रतिवेदन त आएको छैन । तर यसको मुख्य व्यवस्थापकीय संस्था नागरिक उड्यन प्राधिकरणले दुर्घटनाको अवस्थालाई हेरेर प्रारम्भिक प्रतिवेदन भने दिएको छ ।
पछिल्लो पटक सुर्यचौरमा भएको दुर्घटनाको कारण चालकदलका सदस्य भएको उसको दावी छ । उड्डयन प्राधिकरणको भिजियोल फ्लाइट रुट (भीएफआर)ले अनुमति नदिएको प्रतिकूल मौसम, बादल भएको ठाउँमा हेलिकोप्टर प्रवेश गराउँदा उक्त दुर्घटना भएको भनिएको छ । यस्तै भीएफआरको अनुमतिविपरीत हेलिकोप्टर बादलभित्र छिर्नु वा आँखाले नदेखेको ठाउँमा पस्नु प्रतिबन्धित अवस्था रहेको उल्लेख गर्दै यसमा जिम्मेवार चालक दल नै देखिएको दावी गरिएको छ ।
मुख्यत दुर्घटनापछि सरकारले बनाउने जाँचबुझ समितिको गहिरो रुपमा प्रतिवेदन आउन नसक्नु र आएका प्रतिवेदनलाई अध्ययन गरेर कार्यान्वयनमा लैजान नसक्नु दुवै कमजोरीका कारण हामीले बारम्बार दुर्घटना ब्यहोरिरहेका छौं । हरेक दुर्घटनाका कारणहरु उस्तै प्रकारको हुँदै आएका छन् ।
नेपालको भौगोलिक अवस्थाका कारण नै धेरै दुर्घटना हुँदै आएका छन् । यसलाई नागरिक उड्यन प्राधिकरणले सहि अवस्थाको मुल्याडंकन गरेर उडानलाई व्यवस्थापन गर्न नसकेका कारण नै यस्ता घटना भैरहेका छन् । यसर्र्थ आगामी दिनमा यस्ता प्रकारका कमजोरीबाट पाठ सिकेर आगामी दिनमा अघि बढ्न सके दुर्घटनालाई रोक्न सकिन्छ भन्नेतर्फ सम्बन्धित निकायको ध्यान पुगोस् ।