
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा आफ्नो चार दिने भारत भ्रमण सकेर स्वदेश फर्कनु भएको छ ।

भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफ्नो भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको आफूले विश्वास लिएको बताउनुभएको हो ।
उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र नेपाल र भारतको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रम अनुसार नै यो भ्रमण भएको जानकारी गराउँदै भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरूमा कुराकानी भएको जानकारी दिनुभयो ।
भ्रमणका क्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र त्यस भेटका क्रममा नेपाल र भारतबीच रहीआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने विषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।
साथै त्यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो । भारत भ्रमणका क्रममा उहाँले भारतीय विदेशमन्त्री स जयशंकरसहितका उच्च व्यक्तित्वहरुसँग भेटवार्ता गर्नुभएको थियो । यस्तै उहाँलाई नेपाली जनसम्र्पक समितिले बधाई ज्ञापन समेत गरेको थियो । मन्त्री राणाको यो पहिलो विदेश भ्रमण हो ।