
काठमाडौँ । व्यवस्थापिका संसदको चौथो ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राष्ट्रिय भेला मंगलबार बिहानदेखि सुरु हुँदैछ । आज मंगलबारदेखि सुरु हुने राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा सञ्चालन गरिने दुईदिने भेलामा देशभरबाट १ हजार ५ सय प्रतिनिधि सहभागी हुने जनाइएको छ ।
रास्वपाका कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार देशभर चार सय पालिका र दुई हजार वडामा रास्वपाको पार्टी संरचना छ । वडाबाट प्रतिनिधि ल्याउने सम्भावना नभएकाले पालिकाबाट प्रतिनिधि छनोटगरी ल्याउने व्यवस्था गरेको महामन्त्री बुर्लाकाटीले जानकारी दिए ।
भेलाका लागि पार्टीले १५ वटा उपसमिति गठन गरेर तयारी गरेको थियो । भेलामा राजनीतिक र साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने जनाइएको छ । पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ ।भेलाले अध्यक्ष लामिछानेको राजनीतिक प्रतिवेदनका विषयमा छलफल गरेर निर्णय लिने बताइएको छ ।