
नेपाली पात्रो अनुसार भोलि असोज ३ गते संविधान दिवस परेको छ । देशले इतिहासमैं पहिलो पटक जनप्रतिनिधि सम्मिलित संविधानसभाबाट २०७२ असोज ३ गते संविधान जारी गरेको दिन । नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले “नेपालको संविधान २०७२“ लाई हस्ताक्षर गरी अनुमोदन गरेसंगै जनताले चुनेका जनप्रतिनिधिमार्फत संविधान बनाउने वषैं पुरानो जनताको आकांक्षा साकार भएको दिन हो । आफ्ना लागि आफूले निर्वाचित गरेका जनप्रतिनिधिमार्फत संविधान निर्माण गर्ने जनताको चाहानालाई जनआन्दोलन २०६२।०६३ र माओवादी जनयुद्धले पूरा गरेको मान्नुपर्दछ ।
तत्कालिन राजा ज्ञानेन्द्रले जनताका अधिकार खोसेर शासनसत्ता आफ्नो हातमा लिएपछि सात राजनीतिक दलहरुले सुरु गरेको जनआन्दोलनले निर्णायक मोड लियो र त्यस अवधिमा नै माओवादीसँग १२ बुँदे दिल्ली सम्झौताबाट नै एउटा निर्णयक आन्दोलनको सुरुवात भयो । जसले २०६३ सालमा निर्णयक आन्दोलन गरेर राजसंस्थाका अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गराउन दलहरु सफल भए । त्यसपछि
प्रथम संविधानसभाले तोकिएको समयमा संविधानको सफल प्रारुप दिन नसकेपछी दोश्रो संविधान सभाकोनिर्वाचनबाट नेपालको संविधान २०७२ घोषणा गरिएको हो ।
संघिय गणतान्त्रिक नेपालका रुपमा राज्य पूर्नसंरचना गर्दै कूल ७ वटा प्रदेश अनि यस अघिको संवैधानिक राजतन्त्रलाई गणतन्त्र अनि एकात्मक राज्य संरचनालाई संघियतामा रुपान्तरण गरेको यस संविधानले हरेक प्रदेशमा एउटा र केन्द्रियमा एउटा गरि दुई प्रकारको संसदको ब्यवस्था गरेको छ । मुलुकमा तीन तहको सरकार क्रियाशिल छ । संघ प्रदेश र स्थानीय सरकारको कल्पना संविधानले गरेको छ । सोही अनुसार नै देश अगाडि बढिरहेको छ । तर अझै संविधान कार्यान्वयनका लागि धेरै काम गर्न बाँकी रहेको छ । संघीय, प्रदेश र स्थानीय कानुनहरु बन्न सकिरहेका छैनन् ।
देश सञ्चालनका लागि मुख्य रुपमा संविधान अनुसारका कानुनहरु आवश्यक पर्दछ । सोही कानुनर विधि निर्माण हुन नसक्दा संघीय लोकतान्त्रिक सरकार परिपक्क र बलियो हुन सक्दैन । आज संविधान निर्माण भएको यत्तिका वर्ष बितिसक्दा पनि संसदले आवश्यक कानुन निर्माण गर्न सकेको छैन । यसले आम रुपमा संघीयताप्रति गुनाासो बढ्दै गइरहेको अवस्था छ ।
लोकतन्त्र सुन्दर व्यवस्था हुँदा हुँदै पनि यसका चालकहरुले सहि समयमा सहि निर्णय लिन नसक्दा यो व्यवस्थाप्रति जनताकातर्फबाट पनि आलोचनाका स्वर सुनिन थालेका छन् । देश राजनीतिक रुपमा सफल भएपनि आर्थिक रुपमा अझै धेरै कमजोर छ, देशमा बेरोजगारी, भ्रष्टाचार, आर्थिक अभावले जरा गाड्दै गएको अवस्था छ । जसलाई आधार बनाउँदै संघियता विरोधी पनि सल्बलाउन थालेका छन् । यसको अन्त्य नभएसम्म वास्तविक रुपमा संघीयता सफल हुन सक्दैन । पछिल्लो पटक राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच सत्ता सहकार्य सुरु भएको छ । यो सहकार्य कम्तिमा अर्को आवधिक निर्वाचनसम्म जाने कुरामा दुवै दल सकारात्मक देखिएका छन्। उनीहरुले संविधानलाई आवश्यक संशोधन गरेर देशलाई थप नयाँ ढंगले अघि बढाउने मुख्य कार्ययोजना बनाएका छन् ।
संविधानमा व्यवस्था गरिएका कतिपय विषयले यसको कार्यान्वयनमा जटिलता उत्पन्न गरेपछि मुख्य दुई दल संविधान संशोधनको पक्षमा उभिएका छन् । तर यसलाई सहमतिका आधारमा गरिनुपर्दछ भन्ने आम बुझाई छ । लोकतन्त्रको जननीका रुपमा रहेका कांग्रेस एमालेको सहकार्यले निश्चयनै यस्ता विषयहरु सम्बोधन हुनेछ भन्ने विश्वास गर्न सकिन्छ । जनचाहाना भन्दा बाहिर गएर दुई दल अघि बढे र यो गठबन्धन असफल भयो भने सिंगो देश असफल हुने खतरा छ ।
कांग्रेस एमालेलाई यो समयमा असफल हुने छुट छैन । दुई दलले अन्य दलहरुलाई विश्वासमा लिएर देशलाई सहि बाटोमा अघि बढाउन सक्नुपर्दछ । तबमात्र देश, जनता, संविधानको रक्षा हुनेछ । त्यसमा नै कांग्रेस र एमाले पनि भविष्य सुरक्षित हुनेछ । संविधान दिवसका अवसरमा आम देशबासीमा हार्दिक शुभकामना ।