
शुकदेव दाहाल
पत्रकार महासंघ देशभरका पत्रकारहरुको साझा संस्था हो । जसको ७० वर्ष लामो इतिहास छ । वि.सं. २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार संघको निरन्तरताका रुपमा महासंघ रहेको छ । संघलाई २०५३ जेठ २९ मा संघलाई महासंघमा रुपान्तरण गरिएको हो । हाल महासंघमा १५ हजारभन्दा बढी सदस्य रहेका छन् ।
देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यकासाथ कृष्णप्रसाद भट्टाईको नेतृत्वमा पहिलो पटक महासंघको स्थापना भएको थियो । त्यसयता नेतृत्वहरु धेरै परिवर्तन भैसकेका छन् । महासंघले यस अवधिमा प्रेस स्वतन्त्रताको पक्षमा आफूलाई दरिलोसँग उभ्याउन सफल हुदै आएको छ । मुलुकमा ३० वर्षे पञ्चायती व्यवस्थाकाबीचमा पनि पत्रकारहरुले आफ्नो जिम्मेवारी र भूमिकालाई कहिल्यै पनि कमजोर बनाएका थिएनन् । जुन कुरा पंक्तिकारले नभोगेपनि इतिहास यस्ता कुरामा साक्षी रहेको छ ।
महासंघको मूल ध्येय, लक्ष्य र दायित्व धेरै छन्, मुख्यत महासंघले नीतिगत तथा व्यवहारिक पक्षबाट प्रेस स्वतन्त्रताको प्रतिरक्षा र प्रवर्दन गर्ने, पत्रकारहरुको भौतिक तथा पेशागत सुरक्षा सुनिश्चितताका लागि काम गर्ने, स्पष्ट नै छ । लोकतान्त्रलाई सुदृढ गर्दै देशमा लोकतान्त्रिक संस्कार निर्माण गर्नु र मानव अधिकारको रक्षा गर्नु महासंघको मुख्य उद्देश्य हो । सूचनाको हक र विचार तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील रहने उसको उदेश्यभित्र पर्दछ । श्रमजीवी पत्रकारहरुको उचित श्रम अभ्यास, सामूहिक सौदावाजी र पेशा तथा रोजगारीको अधिकारको संरक्षणका लागि पत्रकार महासंघलाई ट्रेड युनियन संस्थाका रुपमा स्थापित गरी ट्रेड युनियन अधिकारको नेतृत्व प्रदान महासंघले लिखित रुपमा तयार गरेको विधानमा स्पष्ट रुपमा उल्लेख गरेको छ
। तर समयक्रमसँगै महासंघ पनि एउटा राजनीतिक पार्टी जस्तो बन्न पुगेको छ । राजनीतिक पार्टीले जसरी आफ्नो संस्था बलियो बनाउन र सदस्यहरुको संख्या बढाउनका लागि काम गर्दछ । पछिल्लो समय पत्रकार महासंघ पनि त्यस्तै अवस्थामा पुगेको छ । मुलुकमा २०४६ सालमा प्रजातन्त्र स्थापनापछि सञ्चाल क्षेत्रको विकास र विस्तार भएका छन् । यो सकारात्मक पक्ष हो। यो लोकतन्त्रको सुन्दर रुपमा पनि हो । यसैका आधारमा महासंघमा नयाँ सदस्यहरु थपिनु स्वभाविक मान्नुपर्दछ । संस्था स्थापना भएपछि उसले महासंघमा आवद्ध भएर काम गर्न पाउनु उसको अधिकार पनि हो र यसमा पंक्तिकारको नकारात्मक प्रक्रिक्रिया छैन र यो स्वभाविक र आवश्यक प्रक्रिया हो भन्ने पक्षमा नै छ । तर यहाँ भन्न खोजिएको कुरा के हो भने जसरी हेर्दै नहेरी सदस्य मात्र थप्ने काम गरियो त्यसले नै आज महासंघलाई बदनाम गराएको छ । महासंघ जुन ढंगले अघि बढ्नु पर्ने हो सो अनुसार बढ्न सकेको छैन । एकतातर्फ सदस्यता विवाद, अर्कोतर्फ जसरी पनि नेतृत्वमा पुग्ने दुवै कुराले महासंघलाई विवादित बनाएको छ । पत्रकारहरुमा महासंघप्रति विश्वास गुम्दै गएको अवस्था छ ।
अझ महासंघमा पछिल्लो समय देखिएको विवादले त पत्रकारहरुलाई थप लज्जित बनाएको छ । पत्रकार समाजका चौथो अंग हुन् । यसका गतिविधि स्पष्ट र विवादरहित हुनुपर्दछ भन्ने मान्यता छ । तर आज हेर्दा े यस्ता यति धेरै विवादित र भद्रगोल भएको छ कि यसका गतिविधिबाट जो कोही पनि प्रष्ट छ नै । सदस्यता शुद्धिकरणका नाममा देखिएको विवाद समाधान गरेर महासंघले नयाँ नेतृत्वका लागि निर्वाचन गर्न सकेको छैन । विधान महाधिवेशन भएको ४ महिना हुँदै गर्दा चार पटक निर्वाचनको मिति सारिसकिएको छ ।
पछिल्लो पटक असोज ५ गते निर्वाचन हुने अवस्था नबनेपछि वर्तमान अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । कावा अध्यक्षको रुपमा रहेका उपाध्यक्ष रमेश विष्टको अध्यक्षतामा महासंघ चलिरहेको छ । सो नेतृत्वले केही दिन अगाडि असोज १२ गतेका लागि तय गरेको निर्वाचन पनि हुने अवस्था छैन । फेरि जिल्ला शाखा र कतिपय प्रतिष्ठानहरुले विरोध जनाइसकेका छन् । यसको मुल कारण भनेको पत्रकारहरु नभएर यसका नेता हुन । नेताहरुले आआफ्नो अनुकुलका सदस्यहरु बनाउने प्रवृतिलाई रोक्न नसकेका कारण महासंघ आज लथालिड्.ग अवस्थामा पुगेको छ । नेतृत्वमा हुनेहरु पनि आफ्नो स्वार्थमा लिप्त देखिएको अवस्था छ । जसले गर्दा आम पत्रकारहरुको विश्वास गुमाउँदै गएको छ ।
विगतमा महासंघको जुन गरिमा र महत्व थियो त्यो जोगाउन सकिएन भने भोलिका दिनमा पत्रकार बनाउन खोज्दै हिड्नुपर्ने दिन आउन सक्छ । नेतृत्वमा रहेकाहरुले छिटो भन्दा छिटो यस्ता विवादको अन्त्य गरेर महासंघलाई निर्वाचनको बाटोमा अग्रसर गराउनु आवश्यक भैसकेको छ होइन भने भोलिका दिनमा महासंघ एउटा नाम मात्रको संस्था हुनेछ । चेतना भयाँ ।