
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको एक महिने अभियान सुरु गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले राजधानीबाट अभियानको शुभारम्भ गर्नुभएको हो । अभियानको शुभारम्भ गर्दै सभापति देउवाले पार्टीको सङ्गठन बिस्तारमा ध्यान दिन निर्देशन दिनुभएको छ ।
पार्टी केन्द्रिय कार्यालय सानेपामा बुधबार एक महिने विशेष अभियानको शुभारम्भ गर्नुहुँदै सभापति देउवाले पार्टीको सङ्गठन बिस्तारमा ध्यान दिन र आन्तरिक झगडाहरूलाई मिलाउनेतिर लाग्न पनि निर्देशन दिनुभयो ।
सभापति देउवाले पार्टीले संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापतिबारे उठाइएका प्रश्नहरू अहिले प्रमाणित भएको दाबी गर्नुभयो ।
उहाँले संसदीय छानविन विशेष समिति गठन गर्दाताका रास्वपा सभापति रवि लामिछानेले सहकारीको रकम ठगी गरेको भन्नेबारे आफूलाई विश्वास नलागेको भएपनि अहिले प्रमाणित भएको बताउनुभयो ।कांग्रेसले आफ्नो एक महिने अभियानका क्रममा वडा वडासम्म पुगेर पार्टीको संगठन विस्कारमा जोड दिने बताइएको छ ।
यस्तै पार्टीका तल्लो तहका कार्यकर्ताको गुनासो सुन्ने, सर्वसाधारण नागरिकसम्म पुग्ने र उनीहरुबाट कांग्रेसले गर्नुपर्ने कामका विषयमा सुझाव लिने पनि बताइएको छ । जसका लागि कांग्रेसले प्रतिनिधि समेत घटाएको छ ।