
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले मोटरसाईकल चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानकारी अनुसार असोज ५ गते शिवपुरी गाउँपालिका वडा नं०६ गुर्जेभन्ज्याङ स्थित अस्थाई प्रहरी पोष्ट गुर्जेभन्ज्याङमा खटिएको प्रहरी अधिकृत सहितको टोलीले रातको ११ बजेको समयमा चेकजाँच गर्ने क्रममा चोरीगरेर ल्याएको मोटरसाइकलमा सबार व्यक्तिहरुलाई पक्राउ गरेको हो
। रातको समयमा सवारी साधन चेकजाँचको क्रममा काठमाण्डौ बुढानिलकण्ठ वडा नं ३ बस्ने १९ वर्षीय मोटरसाइकल चालक आकाश लामा र मोइटरसाइकल पछाडि बसेका श्याम घलेलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु सवार बा ७८ प ४८२२ नम्बरको २२० सि.सि. को कालो रातो रङ्गको मोटरसाईकलसहित चोरी गर्न प्रयोग गर्ने औजारहरु चेक बक्स थान १, छिनो २ थान, चोक सेन्ट थान १ सहित कागजात बिनाको सवारी साधन समेत नियन्त्रणमा लिएको छ ।
यस्तै किस्पाङ गाउँपालिका वडा नं. ०३ बस्ने ३२ वर्षीय सञ्जय लामाले चलाएको ९८२८ नम्बरको २२० सि.सि.को मोटरसाईकल चेकजाँच गर्दा कागजात बिनाको प्रदेश.०२। ०३२ प ६५९६ लेखिएको नम्बर प्लेट समेत छुट्टै राखी ल्याएको अवस्थामा बरामद गरेको छ । बरामद गरिएको मोटरसाइकल चोरीको गरी ल्याएको अवस्थामा प्रहरलिे नियन्त्रणमा लिन सफल भएको हो ।
उक्त मोटरसाइकल धनीहरु आवश्यक कागजात सहित यस कार्यालयमा उपस्थित भई निजहरु बिरुद्व चोरी सम्बन्धी कसूरमा जाहेरी दरखास्त दिएका छन् । उनीहरुको दरखास्तको आधारमा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर प्रहरीले अनुसन्धान अघि बढाइरहेको पनि जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तिलक भारतीले जारी गर्नु भएको प्रेस नोटमा उल्लेख गरिएको छ ।