
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले असार २४ गते नेपाल र चीनको सीमा क्षेत्र हुँदै भोटेकोसीमा आएको बाढीका कारण रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिका २ को रसुवा गढीमा ठूलो मात्रमा मानवीय तथा भौतिक क्षति भएको विषयमा सदनमा जानकारी गराउनुभएको छ ।
प्रतिनिधि सभाको विभिन्न समयमा सांसदहरूले उठाएका विषयमा जवाफ दिँदै गृहमन्त्री लेखकले भोटेकोसीमा आएको बाढीबाट हालसम्म २ जना नेपाल प्रहरी, ११ जना सर्वसाधारण नेपाली र ६ जना चिनिया नागरिकसहित १९ जना बेपत्ता भएको जानकारी गराउनुभयो ।
गृहमन्त्री लेखकले हालसम्म ३० जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार भएको जानकारी गराउनुभयो ।
मन्त्री लेखकले बेपत्ताहरूको खोजी कार्यका लागि नेपाली सेनातर्फ ७५ जना, नेपाल प्रहरीतर्फ ३६८ जना र सशस्त्र प्रहरी बलतर्फ २३९ जना गरी ६८२ जना सुरक्षाकर्मी खटिएको बताउनुभयो ।
उहाँले धादिङस्थित त्रिसुली नदीको किनारमा नाम थर र वतन नखुलेको दुई जना पुरुषको शव फेला परेको, रसुवा, धादिङ र नुवाकोटमा गरी तीन वटा शरीरका अङ्ग फेला परेको र भरतपुरको १५ किलोमा प्रहरी लालबहादुर श्रेष्ठको शव फेला परेको जानकारी सदनमा गराउनुभयो ।
गृहमन्त्री लेखकले भोटेकोसीमा आएको बाढीले नेपाल र चीन नाका जोड्ने मितेरी पुल पूर्ण रुपमा बगाएको र आवत जावत बन्द भएको, बाढीका कारण सडक चर्किन जाँदा स्याप्रुवेशीदेखी टिमुरेसम्म सडक पूर्ण रुपमा अवरुद्ध भएको बताउनुभयो ।
यसैगरी हालसम्म सुख्खा बन्दरगाहमा भन्सार जाँच पासका लागि राखिएका २३ वटा मालवाहक कन्टेनर ट्रक, ३५ वटा विद्युतीय गाडी, ६ वटा सिनो ट्रकलाई बाढीले बगाएको जानकारी प्राप्त भएको गृहमन्त्री लेखकले बताउनुभयो ।
उहाँले बाढीबाट रसुवागढी हाइड्रो पावरको ड्याममा क्षति भएको, त्रिशूली थ्रिडी प्रोजेक्ट बगाएको र संयुक्त सुख्खा बन्दरगाह जाँच चौकीको पनि अधिकांश भाग बगाएको र त्यहाँ रहेका सवारी साधनहरू पनि बगाएको र अन्य थप क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।
मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा विपद् प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी घटनाबारे जानकारी लिएको र अवलोकनपश्चात् प्रधानमन्त्रीको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बसी विभिन्न राहत, उद्धार तथा प्रतिकार्य सम्बन्धी महत्वपूर्ण निर्णयहरू भएको बताउनुभयो ।
उहाँले मित्र राष्ट्र चीनसँग समन्वय गरी भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण पहिचान गर्ने र मनसुनको समय रहेकोले पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाइ पूर्वतयारी तथा प्रतिकार्यका लागि तयार रहन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।
गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सुरक्षा निकाय, स्थानीय प्रशासन र सरोकारवाला निकायबाट विपद् सम्बन्धी समय–समयमा सूचना एवं जानकारीहरू आम नागरिकका लागि जारी गर्ने गरिएको मन्त्री लेखकको उल्लेख समेत गर्नुभयो ।अनलाइन रेडियो नेपालबाट