
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ नुवाकोटको अध्यक्षमा सरिता आचार्यलाई मनोनयन गरिएको छ । महिला संघकी केन्द्रीय अध्यक्ष उषा रावत मिश्रले संघको अध्यक्षमा मनोनयन गर्नु भएको हो ।
लामो समयदेखि महिला संघको अधिवेशन हुन सकेको छैन । महिला संघको रिक्त अध्यक्षमा आचार्यलाई मनोनयन गरिएको हो । ,अध्यक्ष मिश्रले देशभरका लोकतन्त्रवादी महिलाहरुको साझा संस्था नेपाल महिला संघलाई थप सुदृढिकरण गर्न तपाईको नेतृत्वदायी भूमिका रहने छ, मनोनायन पत्रमा भन्नुभएको छ, ।आचार्यलाई अध्यक्षमा मनोनयन गरिएको मिति भने २०८१।भदौं १९ गतेको रहेपनि आजमात्रै उहाँलाई मनोनयनको पत्र प्रदान गरिएको छ ।
आचार्यले आफूले मनोनयनको पत्र आज मात्रै पाएको र साथीहरुका बीचबाट सार्वजनिक गरेको जानकारी दिनुभयो । उहाँले आफ्नो नेतृत्वमा महिला संघलाई थप सुदृढ बनाउने दावी समेत गर्नुभएको छ । उहाँले आफूले संघको अधिवेशन गरेर नयाँ नेतृत्वलाई संगठन हस्तान्तरण गर्ने प्रतिवद्धता समेत जनाउनु भएको छ ।
नुवाकोट जिल्लामा लामो समयदेखि कांग्रेस राजनीतिमा सक्रिय ककनी ३ चाउथेकी आचार्य नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि हुनुहुन्छ । ककनी गाउँपालिकामा गत निर्वाचनमा कांग्रेसबाट उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्यले थोरै मात्रै मतले पराजित हुनु भएको थियो । हक्की र खरो स्वभावकी आचार्य यसअघि महिला संघ नुवाकोटको सचिव समेत हुनुहुन्थ्यो ।
नेपाली कांग्रेसमा डा. प्रकाशशरण महत निकट रहँदै आउनु भएकी आचार्यको मनोनयनबाट जिल्लाका समग्र महिलाहरुको हकहितमा पक्षमा सकारात्मक सन्देश गएको भन्दै सामाजिक सञ्जालमार्फत कांग्रेस नेता कार्यकर्ताले शुभकामना सन्देश प्रवाह गरेका छन् । यद्यपि कतिपयले भने नेताको खल्तीट मनोनयन गरिएको भन्दै यसले कांग्रेस बलियो नहुने र अधिवेशनमार्फत नेतृत्व चयन हुनुपर्नेमा जोड दिँदै आएका छन् । पछिल्लो समय कांग्रेसको अधिकांश भातृ संगठनहरु तदर्थ रुपमा नै चल्दै आएका छन् । केही दिन अघि मात्रै नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष पनि मनोनित गरिएको थियो ।
