Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

छोरीलाई बाबुको उपदेश

नुवाकोट पुकार ५ कार्तिक २०८१, सोमबार ०८:०१

यो धेरै वर्ष अघिको एउटा पत्र हो जसले आम रुपमा छोरी तथा नारीहरुलाई सकारात्म्क सन्देश दिन खोजेको छ । पचासी वर्षअघि अर्थात् १९९६ सालमा भारतका एक पिताले आफ्नी छोरीलाई लेखेको पत्र गोरखापत्रमा प्रकाशित थियो । त्यो पत्रले त्यसबखतको समाजका बारेमा चित्रण गर्नुका साथै असल तथा नैतिक शिक्षा, उपदेश दिने काम पनि गरेको छ । गृहस्थी जीवन थाल्न लागेकी छोरीले के गर्नुपर्छ भन्ने शिक्षा सो पत्रमा दिइएको थियो । आज पनि यो पत्र उत्तिकै काम लाग्ने छ । असल संस्कार र शिक्षा अभिभावकले आफ्ना सन्तानलाई दिनुपर्छ भन्ने उद्देश्यका साथ यो पत्र यहाँ प्रस्तुत गर्न खोजिएको हो । त्यसबेला बालविवाहको चलन भएकाले यस चिठ्ठीको साथमा प्रयोग गरिएको तस्बिरमा बाबुछोरीको सोहीअनुसारको उमेर झल्किने गरी तस्बिर राखिएको छ । अहिले पनि उत्तिकै सान्र्दभिक लागेकाले गोरखापत्रमा प्रकाशित भए अनुसार नै हामीले यो चिठीलाई प्राथमिकतासाथ अनलाइनमा प्रकाशित गरेका छौं ।

चिठ्ठी

बनारस, ११ दिसम्बर १९३२

अति प्यारी मेरी छोरी गुलु,

टार्दा टार्दै पनि आखिरमा यो दिन नआइछोडेन, तिमीले यो घर (माइतीघर) छोडेर पतिको घरमा जानुपरिगो । म यस्तो ठाउँमा छु कि तिमीसँग खुद भेट गर्न नपाउनाले आफ्ना मुखैले केही भन्न पाइन, यसकारण यो पत्र (चिठ्ठी) लेखेको हुँ । हेर एक ता मेरो बानी तिमीलाई थाहा छँदैछ– फजुलका धेरै कुराको सल्लाह दिन मलाई मन लाग्दैन । कतियौँ कुरा ता हामी सबैले खुद आफैँले पनि सिक्नु जान्नु पर्छ । सल्लाहको मूल्य पनि आफ्ना अनुभवमा नै निर्भर गर्दछ । तैपनि मैले विचार गरेँ कि अलिकति कुरा ता लेखेर पठाउँछु, यसले तिमीलाई सुरुसुरुमा कदाचित् केही काम दिने नै छ । पछि ता तिमी आफैँ जान्दै जानेछौ ।

पिताको प्रतिज्ञा

नानी छोरी ! तिमी मेरो निमित्त के हौ, यो म भन्न सक्तिन । तिम्री आमाले मलाई छोडेर गएपछि तिमी नै मेरो आधार थियौ । दुनियाँमा जहाँसुकै रहे पनि मेरो दिल तिमी छोराछोरीहरुकै बासस्थान बन्न गएको छ । जो काम गरिए या गरिएनन् ती सब मेरा केटाकेटीका उपर बोझ नपरोस् भन्ने हिसाबले गरिएका र नगरिएका हुन् । अब तिमी जान लाग्यौ । म यही चाहन्छु कि तिमी जहाँ बसे पनि सदा स्वस्थ र प्रसन्न रहू । फेरि आर्काे कुरा म के चाहन्छु भने जहाँतक म जिम्दो रहन्छु वहाँसम्म तिमीले मेरो घरलाई आफ्नै घर ठान्नू । मलाई बाबु मात्र ह्वैन आफ्ना मित्र पनि जान्नू । दुनियाँ बडो कठिन जग्गा छ, नजाने यहाँ कहिले कुन कुरा आफ्ना टाउकामा पर्न आउँछ । यसमा ता पीरो अनुभव नै बढ्ता हुन्छ । तर, नानी ! तिमले म उपर विश्वास राख्नू । कुनै कुरामा संकोच नमान्नू । तिमीलाई जो चाहिएला, जो भन्न मन लाग्ला त्यसलाई मनमा ली नराख्नू । जहाँतक होला म प्रयत्न गर्नेछु ।

मैले तिम्रो निमित्त दुलाहा पनि भरसक योग्य नै खोजेको हुँ । तर घरगृहस्थी कठिन कुरा छ । मेरो विश्वास छ कि तिम्रा नयाँ माता–पिता (सासु–ससुरा) तिमीलाई आदर गर्ने छन्, औ प्रेमसँग राख्नेछन् । तिमीले आफ्नो काम राम्रोसँग सम्हाल्यौ भने तिम्रा पतिले तिमीलाई सदा सम्मानै गर्नेछन्, स्नेह राख्ने नै छन् । यो कुरा मलाई निश्चय छ । हप्ताको एक बाजी चिठ्ठी लेखौली, वर्षको एक बाजी जरुर भेट गर्न आउली भन्ने आशा राख्तछु ।

मनुस्मृतिमा मैले एउटा श्लोक देखेको छु जो मलाई बहुतै राम्रो लाग्दछ, त्यसले मलाई सब कुरा राम्रो तवरले बत्लाइदिन्छ । म त्यही श्लोक यहाँ लेखिदिन्छु, जानेसम्म त्यसको अर्थ पनि गरिदिएको छु । आशा गर्दछु– यसले तिमीलाई काम देला । मनुजी स्त्रीको कर्तव्य बताउँछन्–

“सदा प्रहृष्यया भाव्यं,गृहकार्येषु दक्षया ।

सुसंस्कृतोपस्करया,व्यये चामुक्तहस्ताया ।।”

सदा प्रहष्यया भाव्यं– स्त्रीहरु (मात्र के सबै)ले सदा प्रसन्न रहनु पर्दछ । संसारमा रुनु धेरै छ, हाँस्नु थोरै छ । यसको विशेष कारण यो हो कि हामी सबै आफ्ना आफ्ना भाग्यदेखि असन्तुष्ट छौँ र नाहकमा ठूला हुन खोज्दछौँ । साँचो कुरा ता यो हो कि सुख दुःखको मात्रा सबैलाई बराबर बाँडिएको हुन्छ । कुनै केही कुरामा बढ्ता छ ता कुनै केही कुरामा बढ्ता हुन्छ । जसलाई हामी आफूभन्दा बढ्ता सुखी देख्तछौँ, उ अरु कुरामा हामीभन्दा बढ्दा दुःखी छ । यसकारण सन्तोष राख्नु जरुरी छ । साथसाथ प्रसन्नतापूर्वक आफ्नो स्थितिको उन्नति पनि विचार गर्दै रहनु पर्दछ । गृहस्थीमा सानो–सानो कुरा बढेर ठूलो हुन जान्छ । थोरै कुरामा पनि झगडा हुन लाग्दछ । यो दिललाई साना–साना कुराको पनि चोट लाग्न जान्छ र उसैमा विचार गर्दागर्दा आफ्नै चित्त मलिन हुन्छ । यसकारण सदा प्रसन्न रहनु, हरस्थितिमा हँसिलो मुख गरेर रहनु, दुनियाँका दिक्कत (टैटण्टा) सँग भिडिने साहस गरी प्रसन्नतासँग रहनु पर्दछ । तिमी दुःखी हुन्छौ भने सारा संसार दुःखी हुन्छ । किनभने एउटाको दुःखले वरपरका सबैलाई ढाक्तछ । यसकारण नानी ! तिमीले सधैँ खुश–मुख रहनू, अँध्यारो मुख कहिले पनि नगर्नू । तिमीलाई हाँसी–खुशी देखेर अहरुहरुले पनि आफ्ना दुःखलाई बिर्सन्छन् र प्रसन्न हुन्छन् । यस निमित्त–

‘सदा प्रहृष्यया भाव्यं’

(सदा) गृहकार्येषु दक्षया (भाव्यं)– आर्काे बडो जरुरी कुरा हामी सबैका निमित्त यो छ कि घरका काममा सदा होशियार रहनू । घरका सब कामको तपसीललाई जान्नू । काम परिआएको बेलामा अपाङ्गता (अपाङ्गतालाई प्रयोग गरिने परम्परागत शब्द प्रयोग भएकाले सो हटाइ अपाङ्गता भनी सच्याइएको) नहुनू । आफूले सब काम जानेको छ भने नोकर चाकरहरुले पनि ठग्न र हेप्न सक्तैनन् । उनीहरुलाई डर रहन्छ कि ‘ए, यो काम ठिक गरिएन भने ता मालिक रिसाउनेछन् !’ फेरि खुद आफैँ काम–काजमा होशियार छ भने त्यसको इज्जत मान–भाउ पनि ठूलो हुन्छ । आफ्ना हातले काम गर्ने हुन्न भन्ने कुरा बिल्कुल गलत हो । ठूला, साना सबैले आफ्ना हातले गृहस्थीका सब काम गर्नालाई सधैँ तयार रहनु पर्दछ । गर्न सक्ने बानी पनि लाइराख्नुपर्छ । आफ्ना कामलाई ठिक तवरले जान्नु, उसलाई मेहनतसाथ गर्नु, कार्यकुशल व्यक्तिहरुको चिह्न या लक्षण हो ।

गार्हस्थ्य बडो गडबडाध्यायको कुरो छ । रोज बीसौँ मानिसहरुसँग काम पर्दछ । सबैलाई सम्हालेर राख्नु पर्दछ । आफूलाई पनि बचाइ राख्नुपर्छ । मेरो समझमा– सबैसँग मिठो बोल्नु, आर्काका आपत या दुःखलाई बुझेर उनसित सहानुभूति राख्नु, आफ्ना आश्रित जनमाथि दया गर्नु, अरु सबैलाई उचित आदर–सत्कार गर्नु, यसो गर्नाले साधारण तवरबाट नै दुनियाँका मानिसहरुसँगको व्यवहार चल्दछ । यदि मानिसले एउटा सानो कुरा सदा याद राखेको छ भने त्यस मानिसबाट गल्ती कदापि हुनसक्तैन, अर्थात् जुन कुराबाट आफूलाई असल वा खराब लाग्ने हुन्छ, उस कुराबाट आर्कालाई पनि असल या खराब लाग्न जान्छ, औ जस्तो वर्ताव हामी अरु सँगबाट चाहन्छौँ उस्तै वर्ताव हामीले अरु माथि पनि गर्नु पर्दछ । सब चीजलाई ठिक तवरले राख्नु, सब काम ठीक–ठीक बखतमा गर्नु, यसबाट घरका दिनदिनैका झनझटमा धेरै सुविस्ता हुन्छ ।

मलाई आशा छ कि खानेकुरा बनाउने–पकाउने काम र सिउने, गाँस्ने काम सिकिसकेकै व्हौली अथवा बाँकी नै छ भने पनि राम्रोसँग सिक्न्यैछौ । असल खानेकुरा खान शौख सबैमा हुन्छ । यो मिल्नाले सब जना प्रसन्न रहन्छन् । तर यसको मतलब रात–दिन भात–तिहुन पकाउने काममा मात्रै लागिरहनु भन्ने होइन, भरशक मिठो–स्वादिलो पार्नु भन्ने आशय हो । बेलाबेलाको काम बेलाबेलामा गर्नाले सब कुरा ठीक हुन्छ । काम गर्नेले बेलामा काम गर्न पाउँछन्, पढ्नेले पढ्न पाउँछन्, खेल्ने खेल्न पाउँछन् । आफूलाई पनि पढ्ने, खेल्ने फुर्सत मिल्दछ । अब स्त्रीहरु गुप्त रहने पुरानो समय गयो, तिमीले बाहिर निस्कन–वर्न हुन्छ, बाहिरका दुनियाँको पनि काम गर्नुपर्छ । तिमीले आफ्ना पतिका घरका जाहानको मात्र होइन, उनका मित्रहरुको पनि ध्यान राख्ने गर्नू । सबैसँग असल व्यवहार गर्नू, सबैलाई आदर गर्नू । साथसाथ यसको पनि विचार गर्नु कि बाहिरको काम गर्दाखेरि घरको काममा हानी हुन जाला नि ! फेरि बाहिरका मानिससित ज्यादा परिचय पनि नहोओस्, जसबाट पतिको दिल दुख्ने होला, तिमी अवश्य यी सब कुरामा ध्यान दिनेछौ–

(सदा) गृहकार्येषु दक्षया (भाव्यं)

(सदा) सुसंस्कृतोपस्करया (भाव्यं)– सब चिज सधैं सफा राख्नुपर्छ । तिमीलाई थाहा छ– नि म आफू पनि सफातिर कत्तिको ध्यान राख्तछु । घर, लुगा, खानेकुरा इत्यादि सफासुग्घर राख्नाले रोगहरु परपर सर्छन्, दिल प्रसन्न रहन्छ । कसैको भनाइ ‘आ, त्यो त धनी मानिसहरु मात्र गर्न सक्तछन्, गरिबका के लाग्छ ?’ परन्तु यो कुरा गलत हो । यसो गर्नालाई जत्तिको मेहनतको आवश्यकता छ, उत्तिको पैसाको छैन । धेरै मालताल जम्मा गरेर थुप्राइराख्यो भने ता यसो गर्न मुश्किलै पर्छ । नभै नहुने थोरै मालताल मात्र राख्ने गर्नुपर्छ । अनि पो सफा गर्न सकिन्छ । सब चिजलाई ठीक राख्नाले सफा पनि रहन्छ औ राम्रो पनि हुन्छ । साथसाथ बखतमा सब चिज पाइन्छन् पनि ।

जुन चिज जुन ठाउँमा झिकिएको छ, काम सिद्धिएपछि त्यो चिज उसै ठाउँमा राखिदिनुपर्छ । त्यसो भयो भने बडो सुविस्ता हुन्छ । सियो, दियासलाई जस्ता साना साना चिजहरु पनि यताउति पडिरहनाले कस्तो धोका पर्दछ । ठीक तवरसँग राख्नाले चिज धेरै दिन काम दिने पनि हुन्छ । हराउने डर पनि कम हुन्छ । माल अलिकति बिग्रनासाथ तुरुत बनाइहाल्नाले खर्च पनि धेरै न लाग्ने हुन्छ, पछिबाटको झनझट पनि हराउँछ । कपडा अलिकति च्यातियो वा फाट्यो भने झट्टै सिइहाल्नुपर्छ नत्र जम्मै कपडा चाँडै नै बेकम्मा हुन जान्छ । यस्तै अरु कुराहरुमा पनि विचार गर्नू ।

राखेका कपडाहरुमा बराबर विचार गर्ने गर्नू, कपूर हाल्नुपर्नेमा कपूरहरु हाल्दैरहनू । भाँडाकुँडा सफा राख्नू । लाउने लुगा, बिछ्याउने लुगाहरु पनि बराबर साबुनले धुने गर्नू । घरका कुनाकुना र हरेक चिजका हरेक हिस्साको सफाइमा प्रतिदिन ध्यान राख्नू । जहाँ यस्तो प्रबन्ध छ वहाँ सबको मन पर्छ । पति सधैँ घर आउन खुशी मान्छन् । नत्र ता कोही कोही घरमा आउन मनै गर्दैनन् । त्यसो भयो भने उनका स्त्रीले दुःख पाउँछन् । तर के गर्नु, लाचार भएर बसिरहनु पर्दछ । पतिको आशय बुझेर काम गर्नु बहुत जरुरी छ । उनलाई बाहिरका धेरै काम हुन्छन् । बडो हैरानी र दिग्दारीमा परेका हुन्छन् । उनीसित सहानुभूति राख्नू, उनका कष्टमा सम्मिलित हुनू, उनलाई भरोसा दिँदैरहनू, उनका काममा भाग लिनू, उनमा गर्व राख्नू । तिमीले उनका निमित्त आश्रय बन्नुपर्छ । जुन चिजहरु उनलाई मन पर्दछन्, ती चिजको ध्यान राख्नू, उनसँग सदा प्रेम राख्नू । यी सबै जरुरी कुरा हुन् । पति सुघर घर, प्रसन्न स्त्री, सुस्वादु भोजनदेखि नै सदा खुशी मान्दछन् । तिमीले यी सबै कुराको असल तवरले ख्याल राख्नू–

(सदा) सुसंस्कृतोपस्करया (भाव्यं)

(सदा) व्यये चामुक्तहस्तया (भाव्यं)– दुनियाँमा खर्चको संकोच (साँगुरो) सबैमा हुन्छ । जतिसुकै रुपैयाँ होस् न खर्च गर्न लाग्यो भने थोरै नै हुन्छ । यस निमित्त आफ्नो आमदानीको भित्र नै खर्च गर्नुपर्छ । खास म आफैँले यस कुरामा गल्ती गरेको छु, यसको मलाई बडो अपशोच छ । आशा छ कि तिमी शुरुदेखि नै विचार राख्नेछौ । पतिलाई धेरै खर्च नबोकाउनू । जत्तिको आमदानी हुन्छ उत्तिले गृहस्थीको खर्च चलाउनू । दुनियाँमा धेरैजसो मानिसलाई रुपैयाँको जरुरत रहन्छ । भन्न ता तिरुँला भनेर लैजान्छन्। तर तिर्न सक्तैनन् । तिमीले दिनलाई छ भने दिनू, तर फेरि भर्ना हुन आउने भरोसा गरेर होइन । त्यसो भयो भने अपशोच हुने हुँदैन । पतिलाई आशा हुन्छ कि स्त्रीले खर्चमा केही बचाइराखेकी छ कि ? केही विशेष काम परेमा टार्न पाइन्छ कि ? तिमीले यस कुरामा खुब विचार राख्नू । पिताको घरमा भन्दा पतिको घरमा बढ्ता अभिमान राख्नू । पतिका आमदानी अनुसार नै आफ्नो खर्च गर्नू र उनकी विश्वासपात्र बन्नू त्यस्तै उनलाई विश्वासपात्र बनाउनू । कमखर्ची हुनु असल कुरा हो । तर ज्यादा कन्जुसी पनि असल हुन्न औ ज्यादा आडम्बर (भडक) पनि असल हुन्न । आफ्ना आमदानी हेरिकन खर्च गर्नु नै सबभन्दा उत्तम कुरा हो । तिमीले यसको खुब ख्याल राख्नू–

(सदा) व्ययं चामुक्तहस्तया (भाव्यं)

लेख्नु त धेरै थियो, तर कागज सिद्धियो । यहाँ हत्पत्ति कागज पाइन्न । चिठ्ठी पनि ता लामै भो नि । भैगो, यत्तिकैमा खतम गर्छु । अब सारांश यत्ति भन्दछु– यसबखत देशभक्तिको बडो पुकार छ । प्रायः मानिसहरुले यसको मतलब यो संझिराखेका छन् कि व्याख्यान दिनामा नै देशभक्ति छ । त्यसो होइन, वास्तवमा आफ्नो कर्तव्य सानो, ठूलो जो (जस्तो) छ उसलाई पालनु नै साँच्चिको देशभक्ति हो । मेरो समझमा ता देशको वर्तमान स्थितिमा जो मानिस आफ्नो गृहस्थी र आफ्नो पेशाको कामलाई ठीक हिसाबले चलाउँछ, ठीक व्यवहार गर्दछ, हर कुरामा विश्वसनीय हुन्छ, सच्चा देशभक्त त्यही हो भन्ने लाग्छ । प्यारी छोरी नानी ! तिमी सुखी रहू, तिम्रो मार्ग सरल होस्, पतिपत्नीमा सदा प्रेम रहोस्, उसले उसलाई, उसले उसलाई आफ्नो देख्नू, परस्परमा शारीरिक, मानसिक, आध्यात्मिक आवश्यकताहरुलाई पूर्ति गर्नू । मेरो यही आशा छ, अभिलाषा छ, यही प्रार्थना छ औ यही आशीर्वाद छ ।

तिम्रै सदा प्रेमी

बाबु 

(सा. भारतबाट)

Continue Reading

Previous: यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
Next: सुनको भाउले रेकर्ड तोड्दै , आज पनि बढ्यो ६ सय

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार