
काठमाडौँ, कात्तिक १२ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको साइत अनुसार कात्तिक १८ गते आइतबार बिहान ११ः३७ बजे भाइटीकाको साइत शुभ रहेको छ । समितिको सोमबार बसेको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभएको छ ।
यस्तै समितिका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ । यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठुलो चाड तिहार कात्तिक १३ गते मङ्गलबारदेखि सुरु हुँदैछ । मङ्गलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ ।
आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ । कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँसी परेको छ । त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।
