
काठमाडौँ । सरकारलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्दै बागतमी प्रदेशमा पनि दुई दलीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्र गठन गरिएको हो । संयन्त्रमा दुई दलका तीन–तीन नेता रहने व्यवस्था गरिएको छ ।
नेपाली कांग्रेस बामगती प्रदेश सभापति इन्द बानियाँका अनुसार कांग्रेसका तर्फबाट कांग्रेस बागमती प्रदेश कार्यसमिति सभापति इन्द्रबहादुर बानियाँ, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह तामाङ र पार्टीका बागमती प्रदेश उपसभापति चन्द्र महर्जन तथा एमालेका तर्फबाट बागमती प्रदेश इन्चार्ज डा भट्टराई, बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेल र बागमती प्रदेशमा एमाले संसदीय दलको नेता जगन्नाथ थपलिया रहनुभएको छ ।
बैठकले बागमती प्रदेशका १३ वटै जिल्लामा दुवै दलका जिल्ला तहसँग समन्वय गरी यथाशीघ्र संयन्त्र निर्माण गर्न निर्देशन दिएको छ । बैठकले संयन्त्रको बैठकको दुई दलले एक—एक महिना पालैपालो संयोजन गर्ने र मङ्सिर मसान्तसम्मको बैठकको संयोजन काँग्रेसले गर्ने सहमति भएको छ ।
यस्तै, संयन्त्रको सचिवालयमा नेपाली कांग्रेस र एमालेका तर्फबाट एकरएकजना रहने, संयन्त्रको बैठक महिनाको कम्तीमा एकपटक अनिवार्य बस्ने र आवश्यकताअनुसार थप बैठक बस्न सक्ने निर्णय गरेको छ । दलीय संयन्त्र र बागमती प्रदेश सरकारका मन्त्रीको संयुक्त बैठक आगामी मङ्सिर ३ गते बागमती प्रदेशका मुख्यमन्त्रीको कार्यालय हेटौँडामा बसी बागमती प्रदेश सरकार गठन भएको एक सय दिनको उपलब्धि र आगामी कार्यक्रमका बारेमा जानकारी लिने समेत निर्णय भएको इन्चार्ज डा भट्टराईले बताउनुभयो ।
केन्द्रमा पनि दुई दलबीच सरकार सञ्चालन गर्नका लागि चार–चारजना रहेको संयन्त्र निर्माण गरिएको छ । मुलुकमा स्थायित्व दिने भन्दै कांग्रेस र नेकपा एमालेबीच सात बुादे सहमतिका साथ सरकार गठन भएको चार महिना पूरा हूँदैछ । सरकार सञ्चालनको चार महिनाकाबीच सरकारले ७० भनेका मध्ये ७० प्रतिशत काम गर्दै आएको सरकारी पक्षको दावी रहँदै आएको छ ।