
काठमाडौं । यहि मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामाबली सार्वजनिक गरेको छ । उपनिर्वाचनको निर्वाचन कार्यक्रम अनुसार जिल्ला समन्वय समिति प्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख र वडा अध्यक्ष तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षका रिक्त ४४ पदमा राजनीतिक दलबाट २८९ जना र १२१ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा ४१० जनाको मनोनयनपत्र दर्ता भएकोमा ३१ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
ओखलढुंगा र कैलाली जिल्लाको जिल्ला समन्वय समिति प्रमुखमा क्रमशः नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीका कुमारी चौधरी (भुल) निर्विरोध निर्वाचित हुनुभएको छ । साथै रुकुम (पूर्वी भाग) जिल्ला पुथा उत्तरगंगा गाउँपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उम्मेदवार जगत घर्ती पनि निर्विरोध निर्वाचित हुनुभएको आयोगले जनाएको छ ।
स्थानीय तह उपनिर्वाचन प्रयोजनको लागि दर्ता भएका २५ वटा राजनीतिक दलमध्ये हाम्रो नेपाल पार्टी, नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी लेनिनवादी), नेपाली कांग्रेस (वि.पी.), नेपाली जनता दल र आम जनता पार्टी गरी ५ वटा राजनीतिक दलले कुनै पनि रिक्त पदका लागि उम्मेदवारी दर्ता गरेका छैनन् । निर्विरोध निर्वाचन सम्पन्न भएका तीन स्थान बाहेक ४१ स्थानका विभिन्न पदहरूमा २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवार समेत ३७६ जनालाई चुनाव चिन्ह्र प्रदान गरिएको आयोगले जनाएको छ ।
नामाबली हेर्न डाउनलोडमा क्लिक गर्नुहोस्