
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन—२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली कांग्रेसका तर्फबाट सबैलाई धन्यवाद दिनु भएको छ ।
उहाँले भन्नु भएको छ—“देशका विभिन्न पालिकामा रिक्त पदहरूका लागि आज भएको उपनिर्वाचनमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्त उत्साह र धैर्यसाथ आफ्नो अमूल्य मत दिनु भएको छ । आजको उपनिर्वाचनमा उत्साहपूर्ण र सक्रिय सहभागिता, सहयोग र समर्थनले लोकतन्त्रप्रति नागरिक विश्वासलाई थप प्रमाणित गरेको छ ।
यो विश्वास कायम राख्ने ढंगले कार्य गर्न सरकार र राजनीतिक दलहरूलाई थप प्रेरणा मिलेको छ ।शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रुपमा उपनिर्वाचन सम्पन्न गराउन सफल भएकोमा नेपाल सरकार र निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु ।
यसैगरी मतदान कार्यमा अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, पत्रकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक लगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नु हुने सम्पूर्ण आमाबुबा, दिदीबहिनी तथा दाजुभाइलाई नेपाली कांग्रेसको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु
