
२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले नुवाकोट जिल्लामा जिल्ला भेलाको आयोजना गरेको छ ।जिल्ला समिति गठन, संगठन निर्माण, जिल्ला भित्रका निर्वाचन क्षेत्र, पालिका, वडा संगठन निर्माणसम्बन्धी कार्ययोजना छलफलका लागि भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।
नुवाकोट सदरमुकाम विदुरमा आयोजना गरिएको भेलामा उपसभापति डिपी अर्याल, कार्यवाहक प्रवक्ता मनिष झा, केन्द्रीय सदस्य रामकृष्ण भट्टराई, बागमती प्रदेशका महामन्त्री एवं संगठन विभाग प्रमुख सुरेन्द्र भट्ट,पार्टीका नेता सुमन पाण्डे,क्षेत्र नं १ प्रतिनिधिसभाका उम्मेदवार प्रद्युन्न महत लगायतका नेताहरुले सम्बोधन गरेका थिए । कार्यक्रममा उपसभापति अर्यालले अब गाउँगाउँमा पार्टीको संगठन विस्तारमा लाग्न नेता कार्यकर्तालाई निर्देर्शन दिएका थिए । उपसभापति अर्यालले वर्तमान सरकारले प्रतिशोधकासाथ रास्वपाका सभापतिमाथि अन्याय गरिरहेको आरोप समेत लगाए ।

कार्यक्रममा पार्टीका प्रवक्ता झा ले रास्वपा जनताको पक्षमा काम गर्न आएको भन्दै यसले जस्तोसुकै परिस्थितिको पनि सामना गरेर अघि बढ्ने बताए । उनले संगठनलाई गाउँ गाउँसम्म विस्तार गरेर लैजान पनि जिल्ला नेतृत्वलाई आग्रह गरेका थिए । कार्यक्रममा पार्टीका नेता तथा क्षेत्र नं २बाट प्रतिनिधिसभा उम्मेदवार सुमन पाण्डेले पार्टी संगठन गाउँ गाउँसम्म पुर्याउन सकेमात्रै पाटी बलियो भन्ने बताए । कार्यक्रममा जिल्लाभित्रका करिब ५ सय भन्दा बढि नेता कार्यर्ताको उपस्थिति रहेको रास्वपाले जनाएको छ ।