
काठमाडौँ । एनपिएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । नेपाली खेलकुदमा विजेता टोलीले पाउने अहिले सम्मकै ठूलो राशि हो ।
दोस्रो हुने टोलीले ५१ लाख, तेस्रो टोलीले २५ लाख र चौथो १५ लाख प्राप्त गर्ने क्यानको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि क्यानले उत्कृष्ट नेपाली खेलाडीलाई कार दिने बताइसकेको छ । एनपिएल अन्तर्गत लिग चरणका कुल २८ खेल सकिएका छन् । २८ खेल सकिँदा प्ले अफमा पुग्ने चार टिमको टुङ्गो लाग्दा चार टिम लिग चरणबाट बाहिरिएका छन् ।
सबैभन्दा बढी ६ जित सुदूरपश्चिम रोयल्सले हात पार्यो । सात मध्ये एक खेल हारेको सुदूरले १२ अङ्कका साथ शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनायो । जनकपुर रोयल्सले ५ जित र दुई हार सहित १० अङ्क बनायो ।
जनकपुरले पहिलो क्वालिफायरमा सुदूरसँग खेल्नेछ । चितवन राइनोज, कर्णाली याक्स र काठमान्डु गुर्खाजले समान ४ खेल जित्दै ८/८ अङ्क जोडे ।
रन रेटमा चितवन तेस्रो र कर्णाली चौथो हुँदै प्ले अफमा पुगेको हो । कम रन रेटको आधारमा काठमान्डु गुर्खाज भने लिग चरणबाट नै बाहिरिएको थियो