
४ पुस, काठमाडौं । पार्टीभित्रको असन्तुष्टिका बाबजुत नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीका नेताहरुको कार्यविभाजन टुंग्याएको छ । २६ मंसिरदेखि एक साता चलेको स्थायी कमिटी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाएको हो ।
गत असारमा सम्पन्न दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिमा नेताहरुको कार्य विभाजन हुन सकेको थिएन । नयाँ कार्य विभाजन अनुसार बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी उपाध्यक्ष गंगालाल तुलाधरलाई दिइएको छ । तुलाधर धादिड. जिल्लाबाट राजनीतिमा सक्रिय हुनुहुन्छ । पूर्व शिक्षामन्त्री समेत रहनु भएका तुलाधर बागमतीका लागि लोकप्रिय नेताका रुपमा समेत परिचित हुनुहुन्छ । संगठन विस्तारमा पनि तुलाधरको भूमिका यसअघि पनि उत्कृष्ट मानिन्छ ।
यस्तै बैठकले कोशी इन्चार्ज उपमहासचिव राजेन्द्र राई, मधेश इन्चार्ज उपाध्यक्ष धर्मनाथप्रसाद साह, गण्डकी इन्चार्ज सचिव श्रीनाथ बराल, लुम्बिनी इन्चार्ज उपमहासचिव मेटमणि चौधरी, कर्णाली इन्चार्ज सचिव चन्द्रबहादुर शाही र सुदूरपश्चिम इन्चार्ज उपाध्यक्ष जानुभक्त जोशीलाई तोकेको छ ।
सम्मानित नेता झलनाथ खनाल स्कुल विभाग प्रमुख बन्नु भएको छ भने बरिष्ठ नेताहरु बेदुराम भुसाल संगठन विभाग प्रमुख र प्रमेश हमाल विदेश विभाग प्रमुख बन्नु भएको छ । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेलाई मोर्चा फाँट प्रमुखको जिम्मेवारी दिइएको छ । पार्टी उपाध्यक्ष जगनाथ खतिवडालाई संघीय तथा प्रादेशिक मामिला प्रमुख र उपाध्यक्ष जयन्ती राईलाई अनेम संघ इन्चार्जको जिम्मेवारी दिइएको छ ।
महासचिव घनश्याम भूसालले पार्टी कामको अनुगनमनको जिम्मेवारी पानु भएको छ। उपमहासचिव गरिमा शाहलाई संसदीय फाँट इन्चार्ज र अर्का उपमहासचिव रामकुमार भट्टराईलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । यवा विभाग इन्चार्जमा लक्ष्मण केसी र विद्यार्थी विभाग इन्चार्ज रामकुमारी झाँक्री बनेकी छन् ।
यस्तै बैठकले सबै केन्द्रीय सदस्यहरुको कार्यविभाजन गरेको र त्यसलाई भोलि मातहतका कमिटिमा पठाउने पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । साथै बैठकले तत्काल कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय यसअघि नै गरिसेकेको छ । संसदमा राष्ट्यि पार्टी बन्न नसकेपनि समाजवादीले आफ्नो भूमिकालाई भने सक्रियतासाथ अघि बढाएको छ ।