
विदुर । नुवाकोटको विदुर नगरपालिकामा बनेको देशकै ठूलो क्षमताको कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकालिने भएको छ । खानेपानी मन्त्री प्रदिप यादवको प्रमुख आतिथ्यतामा आज नुवाकोट सदरमुका विदुरमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो ।
विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कारागार व्यवस्थापन विभाग र खानेपानी विभागका महानिर्देशकहरु सहितको बैठकले कैदीबन्दीको दिसाजन्य लेदोबाट निकालिने बायोग्यास कारागारले प्रयोग गर्ने र सो को सञ्चालन तथा ब्यबस्थापनको जिम्मा बिदुर नगरपालिकाले लिने निर्णय समेत भएको छ ।
हाल कारागारका कैदीबन्दीको दिसाजन्य फोहोरको सही व्यबस्थापन हुन नसक्दा कारागार र आसपासको परिसर दुर्गन्धित भएको, बातावरणीय प्रदुषण फैलिई कर्मचारी, कैदीबन्दी लगायत अन्य व्यक्तिहरुमा समेत स्वास्थ्यजन्य जोखिम हुन सक्ने देखिएकोले खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको आयोजनाले बायो ग्यास सहितको ढल प्रशोधन प्रणाली निर्माण गर्ने निर्णय गरिएको बैठकमा सहभागी खानेपानी तथा ढल व्यबस्थापन विभागका महानिर्देशक ईराम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
‘बायो ग्यास सहितको ढल प्रशोधन प्रणाली निर्माण गर्न कारागार कार्यालय नुवाकोटको नाममा दर्ता कायम मध्येबाट ३० रोपनी जग्गा उपलब्ध गराईने जनाएको छ । ‘कारागार कार्यालय, नुवाकोटको नाममा दर्ता कायम हेको किनं ३७७, ३७८, ३७९ र ६६८ गरी कुल क्षेत्रफल ६४५ रोपनी जग्गा मध्ये ढल प्रशोधन केन्द्र निर्माणको निम्ति कि न३७८ र ६६८ को जग्गा मध्येबाट दक्षिण तर्फको करिब ३० रोपनी जग्गामा कारागार तथा बिदुर नगरपालिकाको ढल प्रशोधन आयोजनाको प्रशोधन केन्द्र निर्माणको कार्य खानेपानी मन्त्रालय अन्तर्गतका निकायले यथाशीघ्र अघि बढाउनको लागि सबै निकायले आवश्यक कार्य प्रक्रिया अघि बढाउने निर्णय गरियो’ बैठकको निर्णयमा भनिएको छ ।
बिदुर नगरपालिका वार्ड नं। ६ मा करिब ७ हजार भन्दा बढी कैदीबन्दी क्षमताको कारागार भवन संरचनाका अलावा खेलमैदान, स्वास्थ्य केन्द्र, आगन्तुक भवन, सुरक्षा निकायको भवन लगायत उद्योग कारागारको रुपमा विकास गर्ने गुरुयोजना मुताबिकका संरचना निर्माण भैरहेको छ ।
२०८१ भाद्र १५ गते उदघाटन भै हालसम्म करिब ७ सय कैदीबन्दी विभिन्न कारागारबाट स्थानान्तरण भइ नयाँ कारागारमा सारि सकिएको छ । कारागारको स्वीकृत गुरुयोजना बमोजिम पाँचौ चरणमा मात्र ढल प्रशोधन र वायोग्यास प्लान्ट बनाउने योजना रहे पनि कारागारका कैदीबन्दीको दिसाजन्य फोहोरको सही व्यबस्थापन नहुँदा कारागार र आसपासको परिसर दुर्गन्धित भएकाले तत्काल निर्माण गर्न आवश्यक देखिएकाले सोही मुताबिक निर्माण गर्न सबै पक्ष एकमत भएका हुन् ।
बैठकमा विदुर नगरपालिकाका उप प्रमुख प्रभा बोगटी, कारागार व्यवस्थापन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराई, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, कारागार व्यवस्थापन विभाग, काठमाडौंका निर्देशक अनुज भण्डारी, विदुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेल, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, चितवनका आयोजना प्रमुख सुन्दर सुवेदी, विदुर नगरपालिकाको वडा नं १ का अध्यक्ष लेनिन रञ्जित, वडा नं २ का वडा अध्यक्ष दिपक कायस्थ, ४ नं वडाका अध्यक्ष निलम बाबु ढुङ्गेल र ५ नं वडाका अध्यक्ष लिलानाथ पौडेल लगायतको सहभागिता थियो ।
यस्तै नुवाकोट आएका बेला मन्त्री यादवले नुवाकोट विदुरमा वितरण गरिएको खाने तथा ढल निकासका विषयमा मेयर श्रेष्ठसँग जानकारी लिनुभएको थियो । मेयर श्रेष्ठले विदुर नगरपालिका भित्र खानेपानी सेवा उपलब्ध गराउदै आइरहेको बिदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मार्फत सञ्चालित खानेपानी ल्याइएको फालाखु खोलाको बाँध स्थल र पाइप लाइन विस्तारमा पहिरोले पुराएको क्षतिको पुर्ननिर्माण एंव खानेपानीको बाँध निर्माणको लागी मन्त्री यादव निरीक्षण गराएसँगै मन्त्रालयको तर्फबाट आवश्यक सहयोग, सहजिकरण एंव योजना कार्यान्वयनमा सहयोगको प्रतिबद्धता जनाउनुभएको विदुर नगरपालिकलो जनाएको छ ।
विदुर नगरपालिकाको विभिन्न वडाबाट संकलित ढललाई प्रशोधन गरी स्वच्छ वातावरण निर्माण र बायो ग्यास उत्पादनको उपयोग केन्द्रिय कारागारले गर्ने र त्यसको व्यवस्थापन विदुर नगरपालिकाले गर्ने सहमति भएको छ। मन्त्री यादवले नगरप्रमुख श्रेष्ठको नेतृत्वमा भइरहेको समन्वय र सहजीकरणको प्रशंसा गर्दै खानेपानी मन्त्रालय विदुर नगरपालिकाका यी योजनाहरूलाई सफल बनाउन सधैं तयार रहने बताए।
यसै क्रममा मन्त्री यादवले विदुर नगरपालिकामा खानेपानी सेवा उपलब्ध गराउँदै आएको फालाखु खोलाबाट ल्याइएको पानीको पाइपलाइन विस्तार र पहिरोबाट भएको क्षतिको पुनर्निर्माण कार्यको पनि अनुगमन गरेका छन्। उनले उक्त कार्यहरूलाई सम्पन्न गर्न आवश्यक सहयोग र सहजिकरण गर्ने आश्वासन दिएको मेयर श्रेष्ठको सचिवालयले जनाएको छ ।