
काठमाडौँ, पुस २५ गते । २०५६ सालको परीक्षामा देखि अुनर्तीण कक्षा ११ र १२ को विद्यार्थीका लागि प्रदान गरिएको मौका परीक्षामा थोरै मात्रै विद्यार्थीले आवेदन दिएका छन् । विगतका परीक्षामा सहभागी भएर उत्तीर्ण हुन नसकेका वा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका २१ वर्ष पुराना विद्यार्थीलाई लक्षित गर्दै राष्ट्रिय परीक्षा बोर्डले मौका परीक्षाको अवसर दिएको थियो । तर त्यसमा खासै विद्यार्थीहरुको रुची देखिएन ।
बोर्डले २०५६ सालको परीक्षामा सहभागी भएकादेखि २०७७ सालमा सहभागी भएर अनुत्तीर्ण भएका परीक्षार्थीलाई यस्तो परीक्षामा सहभागी हुने मौका दिएको थियो । बोर्डको तथ्याङ्क अनुसार यस अवधिमा सञ्चालन गरिएको नियमित तथा मौका परीक्षामा सहभागी भएर पनि अनुत्तीर्ण भएका परीक्षार्थी करिब १४ लाख रहेका छन् । तर परीक्षामा सहभागी हुनका लागि बोर्डले परीक्षा फाराम खुलाउँदा २२ हजारले मात्रै आवेदन दिएका छन् ।
बोर्डका सहपरीक्षा नियन्त्रक कृष्ण घिमिरेका अनुसार दुई पटकसम्म म्याद थप्दा २१ हजार ८५३ जनाको मात्रै आवेदन परेको छ । यसले विद्यार्थीहरुमा अध्ययनको रुची नदेखिएको प्रष्ट हुन्छ । धेरै परिरक्षार्थीहरु आआफ्नो ढंगले बाटो लागिसकेकाले परीक्षा दिन चासो नगरेको हुनसक्छ ,ह ामीले आफ्नो प्रक्रिया जारी राखेका छौं नियन्त्रक घिमिरेले भन्नुभयो । विविध कारणले तोकिएको समयमा फाराम भर्न नसक्ने विद्यार्थीबाट बोर्डले अहिले पनि केन्द्रीय तथा प्रादेशिक कार्यालयबाट भौतिक रूपमै फाराम सङ्कलन गरिरहेको छ तर फाराम भर्नेहरू नगण्य छन् ।
पहिलो चरणमा परीक्षा फाराम भर्ने समय मङ्सिर २७ गतेसम्मका लागि थियो । परीक्षा फाराम भर्न बोर्डले निर्धारण गरेको दोस्रो समयसीमा भने पुस १३ गतेसम्मका लागि थियो ।मौका परीक्षामा सहभागी हुन फाराम भर्नेको सङ्ख्या यकिन भएपछि उनीहरूलाई कहिलेदेखि मौका परीक्षा सञ्चालन गर्ने भन्ने निर्णय गरिने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् ले २०५२ सालदेखि कक्षा ११ को पढाइ सुरु गरेको थियो ।
सुरुवाती तीन वर्षसम्म त्रिभुवन विश्वविद्यालयको तत्कालीन प्रवीणता प्रमाणपत्र तह प्रथम वर्ष र द्वितीय वर्षको पाठ्यक्रममा आधारित भएर कक्षा ११ र १२ को पढाइ सञ्चालन गरिएको थियो । हाल त्रिवीका क्याम्पसहरुले कक्षा ११ र १२ को कक्षा सञ्चालन गरेका छैनन् । सरकारले कक्षा १२ सम्मको शिक्षालाई माध्यमिक शिक्षाको रुपमा परिभाषित गरेको छ । सोही अनुसार स्कुलहरुले कक्षा १२ सम्म अध्ययन गराउँदै आएका छन् ।