
विदुर । धार्मिक तथा सांस्कृति रुपमा समेत जोडिएको गोरु जुधाउने मेला अर्थात गोरु जात्रा नुवाकोटमा यस वर्ष पनि धुमधामकासाथ मनाइएको छ । माघे संक्रान्तिको अवसरमा माघ १ गते जिल्लाको विभिन्न स्थानमा गोरु जुधाउँदै मनोरञ्जन प्राप्त गरिएको छ ।

आधुनिक युगमा पशुहरुलाई जुधाएर मनोरञ्जन लिनु असोभनिय मानिएको भएपनि नुवाकोट जिल्लामा स्थानीय संघ संस्था र पालिकाहरुले समेत एक विशेष पर्वको रुपमा मनाउन थालेका छन् । सोही अनुसार तारुका, बेत्रावती, पञ्चकन्या लगायतका स्थानहरुमा गोरुजुधाई मेलाको आयोजना भएको छ । तारुका,बेत्रावतची, पञ्चकन्या लगायतका स्थानमा भने प्रतियोगितात्मक रुपमा उक्त मेला आयोजना गरिएको थियो ।

तर अन्य स्थानमा भने मनोरञ्जनका लागि स्थानीयहरुले स्वतस्फूर्त रुपमा केही क्षण गोरु जुधाएका थिए । तारुकामा भने बागमती प्रदशेका मुख्यमन्त्रीको प्रमुख आतिथ्यतामा निकै तामझामकासाथ कार्यक्रम आयोजना गरिएको छ ।
तारुकामा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत, उपसभापति राजू थापा, गाउँपालिका अध्यक्ष शिव अधिकारी अविरल लगायतका व्यक्तित्वहरुले महोत्सवका अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।यस्तै बेत्रावतीमा पनि स्थानी युवा क्लबको आयोजनामा कार्यक्रम भएको । तारुका गाउँपालिका वडा नम्बर ३ को चन्दनीस्थित कटहरबोट पाटामा यसपटक १४ हल गोरु जुधाइएको बताइएको छ । पञ्चकन्याको पिपलडाँडामा पनि नवप्रतिभा युवा समाजको आयोजनामा गोरु जुधाई कार्यक्रम आयोजना गरिएको छ ।

पञ्चकन्यामा नेपाली कांग्रेसका नेता जगदश्विरनरसिंह केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको छ । सांस्कृतिक जगेर्ना तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माघे संक्राति गोरु जुधाई महोत्सव आयोजना गरिएको आयोजकहरुको भनाई रहेको छ ।

यस्तै बिदुर नगरपालिका वडा नम्बर १० को बेत्रावतीमा पनि ११ हल गोरु जुधाइको थियो । स्थानीय गोसाईकुण्ड युवा क्लवको आयोजनामा हुने उक्त कार्यक्रममा बिशेष साँस्कृतिक प्रस्तुतिहरु समेत रहेको थियो । मेला हेर्न दुर्व स्थानमा दर्शकहरु भरिभराउँ थिए ।