
विदुर । नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको कार्यालय स्थानान्तरण गरिएको छ । झण्डै सात वर्ष भाडाको घरमा रहँदै आएको गाउँपालिकाको कार्यालय भालडाँडा (भलादमीडाँडा) मा सरेको छ । नयाँ कार्यालय वडा नम्बर ३ को नवप्रकाश माध्यमिक विद्यालयको भवनबाट सञ्चालनमा आएको हो .
पालिकाले नयाँ भवन बनाउने प्रक्रिया सुरु गरेसँगै पालिकाको कार्यालय पनि सारेको छ । हाल सारिएको कार्यालय वडा नं १ स्थित ढिकुरे पुलबाट १ किलोमिटर माथि रहेको छ । भाडाको घरमा कार्यालय सञ्चालन गर्दा शाखा कार्यालय फरक फरक स्थानमा राख्नु परेको र तयसबाट सेवाग्राहीलाई समस्या भएको निश्कर्षकासाथ शाखाहरूलाई एकीकृत गर्नका लागि नयाँ स्थानान्तरण गरिएको अध्यक्ष धुर्व श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार १० कोठा भएको उक्त भवनबाट पालिकाका सबै प्रशासनिक कार्यालय रहने छ । गाउँपालिका स्रोतका अनुसार पालिकाले आठ वर्षमा ३ करोडभन्दा बढी भाडा खर्च गरेको छ । नयाँ भवन भने विद्यालयको उपलब्ध संरचनाबाट निःशुल्क रूपमा प्रयोग गरिनेछ । विद्यालयमा विद्यार्थी संख्या कम भएकाले नवप्रकाश माविको भवन गाउँपालिका सञ्चालनका लागि उपयुक्त लिइएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
गाउँपालिकाको स्थायी भवन निर्माणका लागि सिँचाइ डिभिजनको ४.५ रोपनी जग्गा प्राप्तिको प्रक्रिया अघि बढिसकेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नयाँ भवन निर्माणका लागि बजेटसमेत विनियोजन भइसकेको छ ।
यस्तै पालिकाले भालडाँडामा पुग्ने सडकको स्तर उन्नतिको लागि विनियोजन गरेको ३ करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढिसकेको छ । यो बजेटले सडक ढलान गर्ने, पर्खाल निर्माण गर्ने लगायतका हुने र त्यसबाट कार्यालय पुग्न अझ सहज हुने पालिकाले जनाएको छ ।
१२ पालिका रहेको नुवाकोट जिल्लामा सुर्यगढी, लिखु र बेलकोटगढीले आफ्नो कार्यालय बनाउन सकेका छैनन् । सुर्यगढी र बेलकोटगढीले भने भवन निर्माणको काम सुरु गरिसकेका छन् ।