
विदुर । तीन जिल्लाका नागरिकहरुको सहज पहँच भएको नुवाकोट जिल्लाको त्रिशुली अस्पताल यस वर्ष पनि देशकै उत्कृष्ट अस्पतालभित्र परेको छ । अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ८१ प्रतिशत अङ्क हासिल गर्दै बागमती प्रदेशको उत्कृष्ट अस्पतालका रूपमा स्थान प्राप्त गरेको छ । योसँगै, देशभरका अस्पतालहरूमध्ये तेस्रो स्थानमा पर्ने सफलता प्राप्त गरेको अस्पतालले जनाएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन समितिका प्रतिनिधि डा. त्रिभुवन चन्द्र झाले यसबारे प्रतिवेदन सार्वजनिक गर्दै त्रिशूली अस्पतालको यो उपलब्धि घोषणा गर्नुभएको हो । अस्पतालले उत्कृष्टता हासिल गरेसँगै व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले यो सफलताले आगामी दिनमा थप सुधार र गुणस्तर वृद्धिमा प्रेरणा मिल्ने भन्दै सफलतालाई निरन्तरता कायम राख्ने प्रतिवद्धता जनाउनु भएको थियो ।
यस्तै अध्यक्ष बुढाथोकीले चालु आर्थिक वर्षमा बिरामीहरूको सहजताका लागि भिडिओ कल सेवा सञ्चालन गर्ने योजना रहेको जानकारीसमेत दिनुभयो । नुावकोट जिल्लाको विदुर नगरपालिका कोलनीमा २०१२ सालमा स्थापना भएको अस्पताललेहाल एक सय शष्यासहित अत्याधुनिक सुविधा समेत प्रदान गर्दै आएको छ ।
अस्पतालमा आईसियु ,सिसियु, भेन्टिलेटर,भिडियो एक्सरे, पीसिआर मेसिन लगायतका सेवाहरु रहेका छन् । यस्तै विभिन्न रोगको विशेषज्ञ सेवा पनि अस्पतालले प्रदान गर्दै आएको छ । अस्पतालबाट प्राप्त यो सेवाका कारण हाल धेरै बिरामीहरु जिल्ला अस्पतालबाट नै उपचार गर्न पाएका छन् ।