
काठमाडौं । सरकारले ल्याएको अध्याध्येशबारे नेपाली कांग्रेसले दुई गैरसांसदमार्फत सांसदहरुलाई ब्रिफिङ गराएको छ। कांग्रेस र एमालेले बनाएको कानुन सुधार कार्यदलमा कांग्रेसबाट सदस्य रहेका अन्तर्राष्ट्रिय कानुनका जानकार अधिवक्ता सेमन्त दाहाल र योजनाविद्को रूपमा सहभागी प्रताप पौडेलले अध्यादेशको कांग्रेस संसदीय दलको बैठकमा ब्रिफिङ गरेका हुन् ।
संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार दाहाल र पौडेलले सुशासनका लागि अध्यादेशमा समावेश गरिएका विषयबारे जानकारी गराएका थिए । बैठकमा सरकारले ल्याएको अध्याध्देशले आर्थिक रुपले मुलुकलाई चलायमान बनाउने काम गर्ने भन्दै यसका विषयमा कांग्रेसले एकढिक्का भएर प्स्तुत हुने निश्कर्ष पनि निकालेको सचेतक घिमिरेले जानकारी दिए ।
बैठकमा महामन्त्री गगन थापाले दुईदलीय संयन्त्रले गरिरहेका कामको ब्रिफिङ गरेका थिए । गृहमन्त्री रमेश लेखकले पनि अध्यादेश ल्याउनुको औचित्यका विषयमा सांसदहरूलाई ब्रिफिङ गरेका थिए ।सोमबार १ बजे फेरि बस्ने गरी कांग्रेस संसदीय दलको बैठक सकिएको छ । लगातार दुई दिनदेखि बसिररहेको कांग्रेस संसदीय दलको बैठकबाट संसदमा कांग्रेसको प्रस्तुती एउटै आवाजमा हुने अवस्था सिर्जना गरेको छ । यसले कांग्रेसभित्रको आन्तरिक विवाद र किचलो सदनमा नहुने विश्वास नेताहरुले लिएका छन् ।