
लेखनाथ, माघ २१ गते । गण्डकी प्रदेशको स्थापना दिवसको अवसरमा माघ २२ गते मङ्गलबार सार्वजनिक विदा हुने भएको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले प्रदेशभित्रका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा विदा दिने निर्णय गरेको हो ।
प्रदेशमा सार्वजनिक विदा र विशेष समारोहसहित प्रदेश स्थापना दिवस मनाउने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो । मन्त्रिपरिषद् बैठकले केही विधेयक प्रदेशसभामा पेश गर्ने र वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुलाई प्रदान गरिने पुरस्कारबारे समेत निर्णय गरेको छ ।
यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलग अलग मितिमा मनाइने गरेको थियो । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकाले त्यसै दिनलाई प्रदेश सभाले स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइएको थियो ।
प्रदेश प्रमुख डिल्लीराज भट्टको उपस्थितिमा माघ २२ गते मङ्गलबार ११ बजे प्रदेश सभा सचिवालयमा प्रमुख समारोह हुनेछ । प्रदेशसभाका सचिव हरिराज पोखरेलले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा रहेको मूल समारोह समितिले विविध कार्यक्रम गरिरहेको जानकारी दिनुभयो ।
“प्रमुख समारोहसहित वृद्धाश्रममा सहयोग, रक्तदान, कर्मचारी पुरस्कृत जस्ता विभिन्न कार्यक्रम गरी प्रदेशसभा स्थापना दिवस मनाइँदै छ,” सचिव पोखरेलले भन्नुभयो ।