
श्रीराम श्रेष्ठ
श्रीराम श्रेष्ठ
२८ जुलाई १९१४ बाट ११ नोभेम्बर १९१८ सम्म प्रथम विश्वयुद्ध जारी रह्यो । मानव इतिहासको सबैभन्दा घातक युद्ध भनेर चिनिएको यो युद्ध युरोप, मध्यपूर्व, अफ्रिका, प्यासिफिकका भूभाग र एसियाका केही भागसम्म विस्तारित थियो ।
लाखौं सैनिक र करोडौँ घाइते भएको यो युद्धमा अरु दशौं लाखको निधन भयो । स्थल जल र आकाश गरी तीनवटै मार्गबाट भएको यो युद्ध जताततैको विनाशले मानव जातिमा कहिले नमेटिने कलंकको इतिहास बन्यो । तर पनि पूर्ण शान्ति स्थापना हुन सकेन ।
भित्रभित्रै थप युद्धका तयारी र एक देशले अर्को देशलाई कसरी समाप्त वा कमजोर गर्ने गराउने योजनाका साथ फेरि त्यस्तै प्रकारको त्रासदीको दिन आयो । जसलाई दोस्रो विश्वयुद्धका नामबाट बुझिन्छ । सन् १९३९ देखि सन् १९४५ सम्म भएको यो युद्धमा झन्डै ७० वटा देशका स्थल, जल र वायुसेना सहभागी थिए । कम्तिमा ६ करोड मानिस मारिएको यो युद्धमा एसियाबाट भारत, नेपाल लगायतका सेना पनि सहभागी थिए ।
भारतीय सेनामा जागिर खाएका नेपालीहरू यो युद्धमा प्रत्यक्ष सहभागी भए । नेपालबाट नेपाली सेना बेलायतको पक्षमा लड्न पठाइएका थिए । कम्तिमा दुई लाख ५० हजार सैनिक सहभागी थिए । यस युद्धमा कम्तीमा ७ हजार ५४४ युवा नेपाली योद्धा मारिएका र कम्तिमा २३,६५५ जना घाइते भएको विवरण पाइन्छ । यसरी दोस्रो विश्वयुद्धको यो पृष्ठभूमिले भारतमा स्वतन्त्रता संग्रामको युद्धले उपनिवेश विरुद्धको आन्दोलनमा नेपालीहरूको पनि सहभागिता रह्यो ।
नेपालमा एकतन्त्रीय शासन रहेको र यसको अन्त्य गरी प्रजातन्त्र ल्याउने उद्देश्यले कतिपय नेपाली नेताहरू भारतमै बसेर नेपालका निम्ति राजनीतिक तयारी गरिरहेका थिए । यसका निम्ति सबैभन्दा पहिले भारतीय स्वतन्त्रता सङ्ग्रामको अहिंसात्मक युद्ध सफल हुन आवश्यक थियो । किनकि छिमेकीको साथ र सहयोगको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने भएकाले आजाद हिन्द फौजमा आबद्ध अंग्रेज उपनिवेशका विरुद्ध लडेका नेपाली योद्धाहरूको अनुभव, शिक्षा र राजनीतिक चेतना नेपालको एकतन्त्रिय राणाशासनको अन्त्य गर्न महत्वपूर्ण औजारका रुपमा उपयोग हुन सक्थ्यो ।
वास्तवमा सन् १९४७ अगस्ट १५ अर्थात वि सं २००४ साल साउन ३१ शुक्रबार भारतको इतिहासमा एक सुनौलो अक्षरले लेखियो । यो दिन उपनिवेशबाट मुक्तिको दिन बन्यो । यसरी २००४ सालको साउन महिनादेखि औपनिवेशिक शासनबाट स्वतन्त्र भएपछि भारतको स्वतन्त्रता सङ्ग्राममा संलग्न नेपाली फौज सर्वसाधारण र भारतमा रहेर यस सङ्ग्राममा सहभागी नेपाली नेता नेपालको राजनीतिक परिवर्तनमा केन्द्रित रहे । यसका निम्ति नेपाली कांग्रेसको नेतृत्वमा गठित जनमुक्ति सेनाले नेपालमा नेपालमा थालेको सशस्त्र क्रान्तिले वीरगञ्ज, चितवनको ठोरी, दाङ, विराटनगर, कोशी, जनकपुर, धनकुटा, चैनपुर, तेह्रथुम, ताप्लेजुङ, माझ किरात, झापा, इलाम, पश्चिम नेपाल भैरहवालगायतका कैयौं स्थानमा आक्रमण र कब्जा गर्दा एकतन्त्रिय राणाशाही शासन डगमगायो ।
वास्तवमा, यो सशस्त्र विद्रोहकै कारण नेपालमा विसं २००७ सालमा प्रजातन्त्र आउन सफल भयो । बीपी कोइरालाको नेतृत्वमा रहेको नेपाली कांग्रेसले छिमेकी भारत र विश्व परिवेशको प्रजातान्त्रिकरणको युगलाई बुझेर त्यसको नेतृत्व गर्दै नेपालमा प्रजातन्त्र ल्याउन सफल भयो ।
वास्तवमा त्यो अधिनायकवादी तानाशाहरूको युग थियो, यो युग कुनै एक देश वा स्थानमा होइन, विश्वका प्रायः सबै देशमा थियो । त्यसैले यस्तो जर्जजर युगबाट विश्वका मानव जातीलाई स्वतन्त्र युगमा ल्याउन सजिलो थिएन । त्यसैले विश्वव्यापी आन्दोलन भयो । आन्दोलनको प्रकृति र प्रवृत्ति जस्तो सुकै भए पनि यसैको पृष्ठभूमिबाट विश्वमै प्रजातान्त्रिक युगको आरम्भ भयो । तर त्यस्तो तानाशाही युगको अन्त्य सहज थिएन, यसका निम्ति युग पुरुषकै आवश्यकता हुन्थ्यो ।
नेपालमा यसको नेतृत्व बीपी कोइरालाले गरे । यस्तै विश्वका अन्य विभिन्न देशमा विभिन्न युगपुरुषले नेतृत्व गरे । यसपछि विस्तारै विश्व मानव समुदाय प्रजातान्त्रिक युगतर्फ अग्रसर भएको हो । यसको परिणामको अनुभूत गरेर तानाशाही शासकको पन्जाबाट मुक्त भएर मानिसले स्वतन्त्रताको अनुभूति गर्न सकेका थिए । आफूलाई मानिसका रुपमा विचरण गर्न, गराउन थालेका थिए । यसरी नेपालमा पनि लामो समयको अधिनायकवादी पारिवारिक शासनप्रणालीको अन्त्य गर्न सहज थिएन । तर पनि युगको मागलाई कसैले रोक्न सक्ने सम्भावना पनि थिएन । फलस्वरुप नेपालमा प्रजातन्त्रको विजारोपण भएको हो ।
( लेखक ः नेपाली कांग्रेस नुवाकोटका सचिव तथा पार्टीको संगठन विभाग प्रमुख हुनुहुन्छ)