
विदुर । नुवाकोटको थानसिङ अमिलेबोटमा सोमबार बिहान भएको सवारी दुर्घटनाको विषयमा भएको सहमतिपछि यातायात सूचारु भएको छ । पीडित पक्ष र यातायात व्यवसायीबीच भएको सहमति पछि यातायात सूचार भएको टिमुरे यातायात प्रा.लिका सचिव दिपक श्रेष्ठले जानकारी दिनुभयो । दुवै पक्षबीच भएको सहमति अनुसार मृतकका परिवारलाई क्षतिपुर्ति बापत टिमुरे यातायातले १० लाख दिन र घाइतेको उपचार गर्ने उल्लेख गरिएको छ ।
सोही सहमति पछि पीडित पक्षले आन्दोलन फिर्ता लिएका छन् भने यातायात सुचारु भएको छ । यसअघि आज बिहान समेत पीडित पक्षले अस्पतालमा गरिएको उपचार खर्च तिर्न समेत आनकानी गरेको,मृतकका परिवारलाई उचित क्षतिपुर्ति दिन नखोजेको भन्दै असन्तुष्टि जनाउँदै विरोध जारी राखेका थिए ।
छहरे त्रिशुली सडकखण्डअन्तर्गत लिखु गाउँपालिका–५ स्थित अमिलेबोटमा माइक्रोबस र मोटरसाइकल आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । काठमाण्डौंबाट त्रिशूलीतर्फ जाँदै गरेको बा।प्र।–०६–००१ ज ०४३९ नम्बरको टिमुरे यातायात प्रा।लि द्धारा सञ्चालित ईभी माइक्रोको ठक्करबाट एक जनाको मृत्यु भएको थियो । ईभी माइक्रोबस र रसुवातर्फ गइरहेको बा।प्र।०२–०२३ प–२४६४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक रसुवा उत्तरगया गाउँपालिका–५ निवासी २५ वर्षीय प्रमोद थापा र पछाडि सवार ३८ वर्षीय पुरुषोत्तम लामिछाने घाइते भएका थिए । उपचारका लागि चिरायु अस्पताल, बसुन्धरा लगिएकोमा उपचारकै क्रममा चिकित्सकले लामिछानेलाई मृत घोषणा गरेका थिए । टनामा संलग्न माइक्रोबस र त्यसका चालक नुवाकोट विदुर नगरपालिका–४ निवासी ३६ वर्षीय नारायण वर्देवालाई नियन्त्रणमा लिएको थियो ।चालकका विषयमा मुद्दा अघि बढाईने छ ।