
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले विभिन्न माग राखेर बिहीबारदेखि आह्वान गरेको आन्दोलन स्थगित गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा मन्त्रीसहितको छलफलपछि आन्दोलन स्थगित गरिएको संघका वरिष्ठ उपाध्यक्ष कृष्णभक्त श्रेष्ठले जानकारी दिनुभयो ।
उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र संघका पदाधिकारीबीच भएको छलफलपछि तत्कालका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको बताइएको छ ।
संघले आन्दोलन घोषणा गरेपछि मन्त्री भण्डारीले छलफलका लागि निगम र संघका पदाधिकारीलाई बोलाएका थिए । संघले लागतअनुसारको बजार मूल्य वृद्धि गर्नुपर्नेलगायत विभिन्न माग राखेर आन्दोलनको घोषणा गरेको थियो ।
संघले ६ वर्ष पहिलाको समायोजन गरिएकै मूल्यमा अहिले पनि ग्यास वितरण गर्दा घाटा व्यहोर्नुपरिरहेको भन्दै मूल्य समायोजनको माग राखेको थियो ।मन्त्रालयले केही समयपहिला वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको संयोजकत्वमा समिति बनाएको थियो ।
सो समितिले पेस गरेको प्रतिवेदनको थप अध्ययन गर्न समय लाग्ने भएकाले संघको आन्दोलन १५ दिनका लागि स्थगित गर्ने सहमति भएको उपाध्यक्ष श्रेष्ठले नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
संघले सरकारले आफूहरुको मागको सुनुवाई नगरेको भन्दै ग्यास बिक्री बन्द लगायतका कार्यक्रमसहति आन्दोलनको घोषणा गरेको थियो । व्यवसायीहरुले सरकारले १५ दिनभित्र माग सम्बोबन नगरे आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।