
फाइल तस्बिर
काठमाडौँ — परराष्ट्रमन्त्री आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेकी छन् ।
उनलाई शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले बिदाइ गरेका थिए ।यही फागुन १२ देखि १४ गतेसम्म आयोजना हुने उच्चस्तरीय सत्रलाई मन्त्री देउवाले यही १२ गते सम्बोधन गर्नेछिन् । भ्रमणका क्रममा उनले विभिन्न देशका आफ्ना समकक्षीहरूका साथै संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख तथा अन्य विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
भ्रमणका क्रममा मन्त्री देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सन् २०२७ देखि २०२९ सम्मको कार्यकालका लागि नेपालले दिएको उम्मेदवारीका पक्षमा समर्थनका लागि पहल गर्नेछिन् ।
मन्त्री देउवा नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नियोगका वरिष्ठ अधिकारीहरू सम्मिलित छन् । उनी यही फागुन १६ गते स्वदेश फर्कने कार्यक्रम छ ।