नेपाल टेलिकमद्वारा चण्डेश्वरी माविका विद्यार्थीलाई झोला वितरण

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १, सोमबार १७:४२

नुवाकोट, असार १ – नेपाल टेलिकम त्रिशुली शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विदुर नगरपालिका–७ अक्करेस्थित चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालय झोला वितरण गरेको छ।


विद्यालयमा आयोजित एक विशेष कार्यक्रममा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूका लागि शैक्षिक सामग्रीस्वरूप ३० थान विद्यालय झोला हस्तान्तरण गरिएको हो। विद्यार्थीहरूको पठनपाठनलाई सहज बनाउने तथा शिक्षाप्रति थप उत्साहित गर्ने उद्देश्यले उक्त सहयोग गरिएको नेपाल टेलिकम त्रिशुली शाखाका प्रमुख बिष्णु प्रसाद भण्डारीले बताउनुभयो।


विद्यालय व्यवस्थापन समितिका सदस्य दिनेश बोगटीले नेपाल टेलिकमले उपलब्ध गराएको सहयोगबाट विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताउँदै संस्थाप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमले सामुदायिक विद्यालयका विद्यार्थीहरूमा अध्ययनप्रति सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभयो।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गणेश लामीछाने, पूर्वप्रधानाध्यापक हरिप्रसाद रिजाल, नेपाल टेलिकम त्रिशुली शाखाका प्रशासनिक अधिकृत अनन्त कोइराला, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सहभागीहरूले शिक्षा क्षेत्रमा निजी तथा सार्वजनिक संस्थाहरूबाट हुने सहयोगले विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए।


विद्यालय प्रशासनले आगामी दिनमा पनि विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि, सिकाइ उपलब्धि सुधार तथा विद्यालयप्रतिको आकर्षण बढाउन विभिन्न कार्यक्रम सञ्चालन गरिने जनाएको छ। यस्ता सहयोगमूलक गतिविधिले विद्यार्थीहरूको शैक्षिक आवश्यकतामा टेवा पुग्नुका साथै सामुदायिक विद्यालयप्रतिको विश्वास र आकर्षण वृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *