निशान्त बिक–संगीना मगर बने ९ औँ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका च्याम्पियन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार १, सोमबार १५:०८

विदुर । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमितिद्वारा आयोजित ९ औँ राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ सफलतापूर्वक सम्पन्न भएको छ । नुवाकोटको विदुरमा आयोजित प्रतियोगितामा देशभरका विभिन्न प्रदेश तथा समन्वय समितिहरूको प्रतिनिधित्व गर्दै सहभागी कलाकारहरूले उत्कृष्ट प्रतिभा प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा उपत्यका समन्वय समितिको प्रतिनिधित्व गर्दै निशान्त बिक र संगीना मगर प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यसैगरी बागमती प्रदेशको प्रतिनिधित्व गर्दै सरोज सिम्खडा र जमुना विश्वकर्मा द्वितीय तथा मधेश प्रदेशको प्रतिनिधित्व गर्दै मानव रावत क्षेत्री र भावना आर्याल तृतीय स्थान प्राप्त गर्न सफल भएका छन् ।

यस्तै, लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राजमान खत्री र शान्ता वली सान्त्वना पुरस्कारबाट सम्मानित भएका छन् । जेठ २९ गते भव्य उद्घाटनका साथ सुरु भई ३१ गतेसम्म चलेको प्रतियोगितामा विभिन्न विधागत पुरस्कारहरू पनि वितरण गरियो। जसअनुसार उत्कृष्ट गायक राजु लामिछाने, उत्कृष्ट गायिका जमुना सुनार, उत्कृष्ट नव गायक विक्रम गहतराज र उत्कृष्ट नव गायिका शितल कल्पना विक घोषित भए। त्यसैगरी, अनुशासित गायक बेल बहादुर परियार, अनुशासित गायिका शान्ति कार्की, उत्कृष्ट भेषभूषा पुरुषतर्फ प्रितम पोखरेल र उत्कृष्ट भेषभूषा महिलातर्फ सीता माझी बन्न सफल भए।

नेपाली लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान र नव प्रतिभाको प्रोत्साहन गर्ने मूल उद्देश्यले आयोजना गरिएको प्रतियोगिता सोचेभन्दा भव्य भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानकी अध्यक्ष रीता थापा मगरले बताइन्। प्रतियोगिता अगाडि सहभागी टोलीलाई समावेशी र प्रतिस्पर्धी बनाउन प्रतिष्ठानको आन्तरिक छनोट समितिले फाइनलका लागि १८ टोली छनोट गरेको थियो।

प्रतिष्ठा अध्यक्ष मगरले प्रतियोगितामा सहभागी भई यसपटक सफलता हासिल गर्न नसक्नुभएका प्रतिभाशाली कलाकारहरूलाई निराश नहुन आग्रह गर्दै धैर्यता, लगनशीलता र निरन्तर साधनाबाट नै सफलताको शिखर चुम्न सकिने विश्वास व्यक्त गरेको छ । “जहाँ जितभन्दा हारको चर्चा बढी हुन्छ, त्यही हार भविष्यको ठूलो जितको आधार बन्न सक्छ,” भन्दै उहाँले सबै कलाकारलाई आफ्नो कला र साधनालाई निरन्तरता दिन प्रेरित गर्नुभएको छ ।

प्रतियोगिताले नेपाली लोक तथा दोहोरी गीतको संरक्षण, प्रवद्र्धन र नयाँ प्रतिभाको पहिचानमा महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् । प्रतियोगिताको उद्घाटन बागमती प्रदेशका पूर्व मुख्यमन्त्री बहादुरसिंह लामाले गरेका थिए ।यस्तै समापन विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ तथा उपमेयर प्रभा बोगटीले आइतबार गरेका हुुन् ।



तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *