राहतका लागि हारगुहार गर्दा पनि सुनुवाइ भएन : विदुर–३ का वडाध्यक्ष रिमाल

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र १३, शनिबार १३:५२



नुवाकोट । विनाशकारी बाढीपहिरोका कारण वडावासी संकटमा परेका बेला आवश्यक सहयोग र राहतका लागि पटक–पटक आग्रह गर्दा पनि सम्बन्धित निकायबाट अपेक्षित सहयोग नपाएको विदुर नगरपालिका–३ का वडाध्यक्ष बद्री रिमालले गुनासो गरेका छन्।
वडाध्यक्ष रिमालले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विपत्तिका कारण आफू अत्यन्तै दुःखी र चिन्तित रहेको बताएका छन्। उनले बाढी आएको दिनदेखि नै वडावासीको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण, राहत व्यवस्थापन तथा शव व्यवस्थापनमा आफू निरन्तर खटिरहेको उल्लेख गरेका छन्।
उनका अनुसार बाढी आउँदा आफू देविघाटमा रहेका थिए। बाढीको सूचना पाउनेबित्तिकै सम्भव भएसम्म वडावासीलाई सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुका साथै देविघाटस्थित संस्कृत माध्यमिक विद्यालयमा रहेका विद्यार्थीलाई सुरक्षित स्थानमा सार्न पहल गरेका थिए। त्यस्तै, देविघाटमा रहेको वृद्धाश्रमका मानिसहरूलाई समेत सुरक्षित स्थानमा स्थानान्तरण गर्न प्रयास गरिएको उनले बताएका छन्।


विपत्तिको पहिलो दिन नेपाली सेना र प्रशासनसँग सहयोगका लागि आग्रह गर्दै बिताएको र भोलिपल्ट बिहान पिपलटार हुँदै करिब ६–७ घण्टाको कठिन यात्रापछि वडा कार्यालय पुगेको रिमालले बताएका छन्। वडा कार्यालय पुगेपछि विस्थापित नागरिकका लागि राहत सामग्री व्यवस्थापनदेखि खोलाको किनारमा गन्हाउन थालेका शव उठाउने, पशुचौपाया उद्धार तथा व्यवस्थापन गर्नेसम्मका काममा आफू सक्रिय रहेको उनको भनाइ छ।


तर, आफूले पटक–पटक जिल्ला प्रशासन, नगरपालिका, सरकार तथा सम्बन्धित क्षेत्रका जनप्रतिनिधिसँग सहयोगका लागि अनुरोध गरे पनि अपेक्षित सुनुवाइ नभएको उनको गुनासो छ। आवश्यक सहयोग नपाए पनि व्यक्तिगत पहल र सहयोगबाट सकेसम्म वडावासीलाई राहत तथा सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको उनले बताएका छन्।


“वडावासीको सम्पूर्ण पीडा मलाई थाहा छ। चाहेर पनि केही गर्न नसकेकोमा धेरै दुःखी छु,” रिमालले भनेका छन्। उनले सम्भव भएसम्म आजै राहत सामग्री वडावासीसम्म पुर्‍याउने प्रयास भइरहेको जानकारी दिएका छन्।


रिमालका अनुसार उनी अहिले पनि खोलाकै किनारमा शव व्यवस्थापनको काममा खटिरहेका छन्। मोबाइलमा चार्ज नभएका कारण सबैसँग निरन्तर सम्पर्कमा रहन नसकेको भन्दै उनले वडावासीलाई नआत्तिन आग्रह गरेका छन्।


“वडावासीका लागि मेरो प्राण रहेसम्म खटिरहने छु। तपाईंहरू नआत्तिकन बस्नुहोला,” उनले अपिल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *